कैलाली- माइती नेपाल धनगढीले कैलालीका दुई बालिका र एक महिलालाई भारतबाट उद्धार गरेको छ।
भारतको सिलिगुडीबाट उनीहरुको शुक्रबार उद्धार गरिएको हो। उनीहरुलाई जेठ १६ गते कैलालीको जोशीपुर गाउँपालिकाको हिम्मतपुर बस्ने प्रेम चौधरीले प्रलोभनमा पारी भारत लगेका थिए।
अपरिचित चौधरीले उनीहरुलाई भारतको बैंकबाट रुपैयाँ निकालेर ल्याउनुपर्ने र सो रुपैयाँबापत एक लाख २० हजार दिने भनेर प्रलोभनमा पारेको पीडितले बताएका छन्। घरदेखि भजनीसम्म साइकलमा गएका उनीहरु भजनीदेखि गौरिफन्टा हुँदै भारतको दिल्ली पुगेका थिए। त्यहाँ पुगेपछि चौधरीले केहीबेरमा फर्किन्छु भनेर आफूहरुको मोबाइल र रुपैयाँ लगेरफरार भएको पीडितले बताएका छन्।
कैलालीबाट भारत पुर्या उने चौधरी लामो समयसम्म सम्पर्कमा नआएपछि नजिकको भारतीय प्रहरी चौकीबाट उनीहरुले सहयोग लिएको बताए। ‘भारतीय प्रहरीले हामीलाई पलियासम्म आउने ट्रेनमा बसायो र केही खानेकुरा दियो,’ उद्धार गरिएकी एक नाबालिकाले भनिन्, ‘हामी भुलेर पलिया पुग्नुपर्नेमा भारतको सिलीगुडीमा पुगेका रहेछौं। एक नेपाली महिलाले हामीलाई देखेर आफनो घरमा लगिन् र हामी चार दिन उनको घरमा बसेका थियौं।’
पीडितका आफन्तले माइती नेपालमा उजुरी दिएपछि भारतको बाल सुरक्षा अभियान ट्रष्ट र भारतको बाल कल्याण समितिको सहयोगमा उनीहरुलाई भारतको सेभ हाउसमा राखिएको थियो। सेभ हाउसबाट माइती नेपालले शुक्रबार राति धनगढी ल्याइएको माइती नेपालका धनगढी प्रमुख शिवचरण चौधरीले बताए।
पीडक चौधरीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको र नाबालिकाहरुको आर्थिक अवस्था कमजोर भएकाले निःशुल्क शिक्षाको व्यवस्थाका लागि पहल भइरहेको उनले बताए।
पछिल्लो समय गरिबी, अशिक्षा लगायतका कारण प्रविधिको प्रयोग गरी नेपाली महिलालाई प्रलोभनमा पारी भारतमा बेच्ने गिरोह सक्रिय भएको धनगढी प्रमुख चौधरीको भनाइ छ। पीडक चौधरी भने अहिले फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।