काठमाडौं- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको दोस्रो संस्करणमा बुटवल ब्लास्टरलाई २ पटक पराजित गर्दै विराटनगर टाइटन्स फाइनलमा पुगेको छ। फाइनलसम्मको यात्रा तय गर्न विराटनगरलाई एउटा युद्ध जिते जस्तै भयो।
बुधबार लिग चरणको अन्तिम खेलमा बुटवललाई ४ विकेटले पराजित गरेको विराटनगरले बिहीबार त्यहि टिमलाई पिपिएलको इलिमिनेटर राउण्डमा २१ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो।
जितसँगै उपाधि जित्ने मनोबल बढेको छ। विराटनगर टिमका सबै खेलाडी परिश्रमको फल पाउँदा दंग छन्। कप्तान पनि खुशी छन्। भन्छन्, ‘हामी च्याम्पियन हुन नै आएको हो भनेर मैले यसअघि नै भनेको थिए। हाम्रो खेल दिन दिनै सुधार भइरहेको छ। हामी च्याम्पियन बन्छौं।’
पहिलो खेलमा एक्सपर्ट धनगढीसँग ५ रनले हारेको विराटनगरले दोस्रो खेलमा पोखरा पल्टनलाई ४५ रनले हराएको थियो। तेस्रो खेलमा काठमाडौं गोल्डेन्स वारियर्ससँग ३६ रनले पराजित भएको विराटनगरले चौथो खेलमा चितवन राइनोजसँग १८ रनको हार ब्यहोर्यो। तर लिगको अन्तिम खेलमा बुटवललाई ४ विकेटले हराएको थियो।
उपाधि जित्न अझै धेरै कुरामा सुधार गर्नु पर्ने कप्तान प्रदीप भन्छन्। ‘अझै पनि हामीले सुधार गर्नु पर्ने कुरा धेरै नै छ। हामी फिल्डिङमा चुकिरहेका छौं। बलिङमा अझै सुधार गर्नु पर्नेछ। ब्याटिङमा राम्रो भइरहेको छ। यही कुराहरु सुधार गर्यौं भने हामी च्याम्पियन हुन्छौं।

बुटवललाई पराजित गर्न ब्याटिङतर्फ ओपनर सुनिल धमलाले ५४ बलमा ६१ रन बनाए। त्यस्तै कप्तान प्रदीपले १३ बलमा ४ छक्का र १ चौकासहित ३३ रन बनाएर उत्कृष्ट फिनिसरको परिचय दिए। खेलपछि सुनिलको तारिफ गर्दै कप्तान प्रदीपले भने, ‘सुनिलले निकै राम्रो खेले, हामीसँग फिनिसर निकै थिए। त्यहि भएर पारीको अन्त्यमा राम्रो फिनिसिङ गर्छु भनेर सोचेको थिए। त्यस्तै भयो।’
विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले पूरा ओभर खेल्दै १० विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। जित नजिक पुगेर पनि टिम कहाँ चुक्यो? बुटवलका कप्तान सोमपाल कामी भन्छन्, ‘१५ओभरसम्म खेल हाम्रै पक्षमा थियो। जोन्टी (भीम शार्की) को विकेट गएपछि हाम्रो लागि ब्याड लक भयो। मलाई लागि रहेको थियो कि १७ देखि १८ ओभरसम्म जित्छौं। तर त्यसो भएन। क्रिकेट हो जे पनि हुन्छ।’
चोटग्रस्त सोमपाल आफ्नो टिम फाइनल पुग्न नसकेकोमा दुःखी नै छन्। तर टिमका खेलाडीले गरेको प्रर्दशनमा भने उनी सन्तुष्ट छन् । भन्छन्, ‘पिपिएल एकदमै राम्रो भयो। सबै जनाले कही न कही राम्रो प्रदर्शन गरे। म खुशी नै छु।’
बुटवलविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विराटगनरलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका निभाएका शाहव आलम खेलको म्यान अफ दि म्याच घोषित भए। उनको प्रदर्शनको तारिफ उनकै टिमका खेलाडी मात्रै हैन पराजित टिमका कप्तान सोमपाल पनि गर्छन्।
उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए।
‘इन्डियन ब्याट्सम्यानहरुलाई सुरुमै आउट गर्ने नै हाम्रो मुख्य योजना थियो। त्यस्तै भयो।’ आफ्नो प्रदर्शनबाट सन्तुष्ट देखिएका शाहव भन्छन्, ‘यो पटक हाम्रो टिम राम्रै हो। सुरुमा हारेपनि त्यसपछि जित्दै फाइनलमा पुगेका छौं।’

उपाधिका लागि अब फाइनलमा चितवन राइनोजसँग विराटनगरले शनिबार प्रतिस्पर्धा गर्दैछ। लिग चरणको पहिलो खेलमा १८ रनको हारको बदला लिने राम्रो अवसर विराटनगरलाई छ। तर त्यो अवसर नदिने लक्ष्यमा नेपाली टिमका पूर्वकप्तान समेत रहेका कप्तान पारस खड्काको टिम चितवन छ।
चितवन कस्तो टिम हो? प्रतिस्पर्धीको हिसाबले विराटनगरका कप्तान प्रदीप के भन्छन् त? ‘हाम्रो टिममा सबै युवा खेलाडी छन्। अनुभवको कमि छ। त्यसैले पनि खेल तलमाथि भइरहेको छ। केटाहरुले फिल्डिङमा सुधार गर्यो भने राम्रो हुन्छ। चितवन राम्रो टिम हो। नेपाली टिमका पूर्व कप्तान नै छन्। सबै अनुभवि खेलाडी छन्। तर राम्रो रणनीति बनाएर फाइनलमा खेल्ने छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।