काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। संकटाका लागि लक्ष्मण रुचालले गोल गरेका थिए। त्यस्तै, जावलाखेलका लागि ड्याडी जुनियर वाम्बाले गोल गरे।
खेलको पहिलो हाफमा गोल गर्दै अग्रता बनाएको संकटाले दोस्रो हाफमा आफ्नो अग्रता कायमै राख्न नसक्दा हार ब्यहोरेको हो। खेलको ३६औं मिनेटमा लक्ष्मणले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।
खेलको ७३औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई संकटाविरुद्ध १–१ गोलको बराबरी दिलाएका थिए। बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन्।
बराबरीसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ। जावलाखेलको ३ खेल मध्ये २ खेलमा बराबरी र १ खेलमा जितसहित ५ अंक भएको छ। यता, संकटा भने ४ अंक बनाउँदै लिगको सातौं स्थानमा छ।
लिगको शीर्ष स्थानमा भने डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब रहेको छ। मनाङले ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक बनाएको छ। आजै दिउँसो भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले पराजित गरेको थियो।
त्यस्तै, लिगको दोस्रो स्थानमा मछिन्द्र क्लब छ। उसको ३ खेलबाट ६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।