काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जित हात पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ।
बिहीबार दिउँसो ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० गोलअन्तरले पराजित गरेको हो। मनाङको जितमा जगतजित श्रेष्ठको गोल नै निर्णायक सावित भयो।
खेलको २५औं मिनेटमा मनाङका लागि जगजितले गोल गरे। पहिलो हाफमा १–० गोलले पछि परेको बिबिसीले दोस्रो हाफमा तुलनात्मक रुपमा राम्रो खेले पनि मनाङसँग हारबाट जोगिन सकेन। मनाङले पाएको अवसर सदुपयोग गर्न नसक्दा बिबिसीसँग १–० गोलको साँघुरो जित निकालेको हो।
मनाङको यो लगातार तेस्रो जित हो। मनाङले यसअघि आफ्नो पहिलो खेलमा विभागीय टिम एपिएफ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै, आफ्नो दोस्रो खेलमा आर्मीलाई मनाङले १–० गोलको जित दर्ता गरेको थियो।
यो जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ। मनाङको ३ खेलबाट ९ अंक भएको छ। यता, दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको ३ खेलबाट ६ अंक हुँदा न्यु रोड टिम (एनआरटी) तेस्रो र थ्रीस्टार चौथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।