काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यु रोड टिम (एनआरटी) ले दोस्रो जित हात पारेको छ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो। एनआरटीको जितमा जुनियर ओनगुने निकेनगुए र दर्शन गुरुङले गोल गरे। यता, च्यासलका लागि अमिर श्रेष्ठले गोल गरे।
खेलको २३औं मिनेटमा जुनियरले गोल गर्दै एनआरटीलाई १–० गोलको अग्रता दिलाए। खेलको ५७औं मिनेटमा अमिर श्रेष्ठले डिबक्स नजिकैबाट प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिदा च्यासलले १–१ गोलको बराबरी बनाउने मौका गुमायो।
खेलको ५८औं मिनेटमा जुनियरले दिएको पासमा जोर्डनले प्रहार गरेको बल च्यासलका एलन न्यौपानेले मुस्किलले बचाए।
खेलको ६३औं मिनेटमा हायातो वाकिनोले दिएको पासमा कप्तान सन्तोष साहुखलले प्रहार गरेको बल एनआरटीका गोलकिपर अजित प्रजापतीले उत्कृष्ट बचाउ गरेपछि च्यासलले फेरि १–१ गोलको बराबरी बनाउने मौका गुमाएको थियो।
खेलको ७१औं मिनेटमा जोर्डन नदेम्बा ओवोनाले दोहोरो पहेँलो कार्ड पाएपछि रेर्ड कार्ड खाँदै मैदानबाट बाहिरिए। योसँगै एनआरटी १० खेलाडीमा सीमित भयो।
खेलको ८६औं मिनेटमा दर्शन गुरुङले उत्कृष्ट गोल गर्दै एनआरटीलाई २–० गोलको अग्रता दिलाए। उनले मैदानको मध्यभाग भन्दा पछाडिदेखि बल लगेर डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरे। खेलको अतिरिक्त समयमा अमिर श्रेष्ठले गोल गर्दै च्यासललाई २–१ गोलको स्थितिमा ल्याएपनि हारबाट बचाउन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।