बुर्किना- उत्तरी बुर्किना फासोमा मङ्गलबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन्।
राष्ट्रपति रोच मार्क क्रिस्टीयन काबोरले दिएको जानकारीअनुसार मंगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण गरेका थिए।
आतङ्ककारी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएपछि दुई दिनका लागि राष्ट्रिय शोकको घोषणा भएको छ। राष्ट्रपतिले उक्त घोषणा गरेका हुन्।
देशको सौम प्रान्तअन्तर्गत पर्ने अर्बिन्द भन्ने ठाउँमा घटना भएको राष्ट्रपतिद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
राष्ट्रपति काबोरले सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षाकर्मीहरुले आफ्नो विरता प्रस्तुत गरेको उल्लेख गरेका छन्। मृत्यु भएका ३५ सर्वसाधारणमा अधिकांश महिला रहेको उनले बताए।
सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता रेमिस डान्डजीमौले मृत्यु भएकामध्ये ३१ जना महिला रहेको पुष्टि गरे।
राष्ट्रपति काबोरले मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुईदिन राष्ट्रिय शोकको घोषणा गरेका हुन्।
घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ। बुर्किना फासोमा यस्ता आक्रमणका घटना बारम्बार हुने गरेको पाइन्छ।
त्यसैगरी अर्को घटनामा स्थानीय सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा ८० जिहादीहरु मारिएको सेनाले जनाएको छ। घटनामा परी अरु २० जना जिहादी घाइते भएका छन्।
सन् २०१५ देखि भएका विभिन्न लडाकू आक्रमणमा परी बुर्किना फासोमा अहिलेसम्म कम्तीमा ७ सयभन्दा बढीको मृत्यु भएको छ। मृत्यु भएकामध्ये २ सय जना सुरक्षाकर्मी रहेका छन्।
हिंसात्मक घटना भइरहेकाले हजारौं स्थानीय बासिन्दा विस्थापित भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।