काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रको जितमा पिटर सेगुन, सोमिडे एडेलजा र रेजिन सुब्बाले गोल गरे।
खेलको २८औं मिनेटमा मछिन्द्रका पिटरले गोल गर्दै पहिलो हाफसम्म मछिन्द्रलाई १–० गोलको अग्रता दिलाएका थिए। ५१औं मिनेटमा मछिन्द्रका लागि सोमिडेले गोल गर्दै २–० को अग्रतामा पुर्याए। खेलको ८५औं मिनेटमा रेजिन सुब्बाले अर्को गोल थप्दै ३–० गोलको जित दिलाएका हुन्।
जितपछि मछिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले जितबाट आफु सन्तुष्ट भएको बताएका छन्। उनले भने, ‘हामीलाई जित्नु थियो। जित्यौं। खुशी छु। यो जितले अब आउने खेलको लागि उर्जा दिएको छ।’
फ्रेन्ड्स क्लबले डिफेन्स खेले पनि पहिलो गोलले गर्दा थप दुई गोल गर्न सफल भएको पनि प्रशिक्षक कटुवालको तर्क छ। ‘फ्रेन्ड्सले डिफेन्समा फोकस गरेको थियो। तर हामीले गोल गर्न सफल भयौं। पहिलो गोलले गर्दा नै हामीले थप २ गोल गर्न सफल भयौं।’
यता, फ्रेन्ड्स क्लबका प्रशिक्षक मार्कुस डेन्टसले लगातार ३ खेलको हारले क्लबलाई निकै गाह्रो भएको बताए।
लिगको शीर्ष स्थानमा मछिन्द्र उक्लिएको छ। शीर्ष स्थानमा रहेको मछिन्द्रको ३ खेलबाट २ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ६ अंक छ। गत वर्ष १३औं स्थानमा लिग सकाएको हुँदा यो पटक उनको एक अंक खोसिएको हो।
२ खेलमा शतप्रतिसत जित हात पारेको मनाङ मस्र्याङ्दीको पनि ६ अंक नै छ तर गोलअन्तरमा पछि पर्दै मनाङ लिगको दोस्रो स्थानमा रहेको हो। तेस्रो स्थानमा च्यालस रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।