कठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई ३–० गोलअन्तरले पराजित गरेको हो। मछिन्द्रको जितमा पिटर सेगुन, सोमिडे एडेलजा र रेजिन सुब्बाले गोल गरे।
खेलको २१औं मिनेटमा मछिन्द्रका विशाल राईको उत्कृष्ट फ्रिकिक प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले मुस्किलले बचाए। तर खेलको २८औं मिनेटमा मछिन्द्रका पिटर सेगुनले पाएको अवसर गुम्न दिएनन्। फ्रेन्ड्सका डिफेन्डरले डिबक्सभित्र क्लियर गर्न नसकेको बललाई सेगुनले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए।
अभिषेक रिजालले दिएको क्रस पासलाई बुद्ध चेम्जोङले खेलको ३२औं मिनेटमा राम्रो गोल गर्ने अवसर खेर फाले। योसँगै मछिन्द्र पहिलो हाफमा २–० गोलको अग्रता बनाउनबाट चुक्यो।
दोस्रो हाफको सुरुवातदेखि नै निकै आक्रमक खेल खेलेको मछिन्द्रले फेरि खेलको ५१औं मिनेटमा अर्को गोल गर्दै २–० को अग्रता बनायो। यो पटक भने मछिन्द्रका लागि विदेशी खेलाडी सोमिडे एडेलजाले गोल गरे।
खेलको ८५औं मिनेटमा रेजिन सुब्बाले अर्को गोल थप्दै ३–० गोलको अग्रता दिलाए। बाँकी समयमा आफ्नो अग्रतालाई कायमै राख्दै मछिन्द्रले फ्रेन्ड्समाथि सहज जित निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।