पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सविरुद्ध बुटवल ब्लास्टरले १ सय ३४ रनको लक्ष्य दिएको छ।
विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको बुटवलले पूरा २० ओभर खेल्दै ८ विकेट जाँदा १ सय ३३ रन बनाएको हो।
ओपनिमा आएका अफ्ताबुद्धिन अहमद किशोर महतोको पहिलो बलमा नै विकेटकिपरमार्फत क्याच आउट भएका थिए। अर्का ओपनर शंकर राना १४ बल खेलेर २ रन हान्दा आउट भए।
तेस्रो क्रममा ब्याटिङमा आएका हर्ष टन्कले ४४ बलमा ६७ रन बनाए। उनले ६ चौका र ५ छक्का हाने। भिम सार्की ७ बलमा ५ रन हान्दा आउट भए। सिद्धान्त लोहनी २१ बलमा ११ रन बनाउँदा मोहम्मद जायद आलमको बलमा बोल्डआउट भए। रविन्द्र शाही २ बल खेलेर शून्यमै आउट भए। शिवम सिंह २६ बलमा ३७ रन बनाएर आउट भए।
विराटनगरका लागि मोहम्मद जायद आलमले चार, किशोर महतोले दुई साथै साहब आलम र दिपेश श्रेष्ठले एक–एक विकेट लिए।
बुटवल यसअघि नै चार खेलमा तीन खेले जितेर प्ले अफमा पुगिसकेको छ। काठमाडौंको भन्दा राम्रो रन रेट बनाएर बुटवललाई हराएमा विराटनगर प्ले अफ पुग्नेछ।
अहिले चार खेलमा एक खेल मात्र जितेको विराटनगरको –०.१७५ को नेट रन रेट छ। प्ले अफको सम्भावना रहेको काठमाडौंको ५ खेलमा ४ अंक छ। काठमाडौंको नेट रन रेट ०.३९ रहेको छ।
यसअघि पहिलो खेलमा विराटनगर धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले हराएको विराटनगर तेस्रो खेलमा काठमाडौंसँग ३६ रनले हारेको थियो। चौथो खेलमा विराटनगर चितवनसँग १८ रनले हारेको थियो।
यस्तै पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा चितवनसँग १ सय १९ रनले हारेको थियो। तेस्रो खेलमा पोखरालाई ८ विकेटले हराएको बुटवलले चौथो खेलमा धनगढीलाई ७ विकेटले हराएको थियो।
पाँच खेलमा पाँच खेल नै जितेको चितवन फाइनलमा पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।