काठमाडौं– विद्यार्थीका लागि परीक्षा पास–फेलभन्दा पनि प्रतिभा प्रस्फुटनको लागि भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्। आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को राजधानीका केही विद्यालयमा निरीक्षणका क्रममा उनले हामीमा भएको परीक्षामुखी सोच हटाउनुपर्ने बताए।
परीक्षा प्रणालीमा गरिएको परिवर्तनले परिक्षा केन्द्रहरुमा अभिभावकहरुको भीड तथा चिट चोराउनेहरुको समेत कमी भएको उनले दावी गरे।
अघिल्लो पटक शिक्षामन्त्री हुँदाको समयमा भएका परिवर्तनलाई सम्झिदै उनले भने,‘पछिल्लो पटक नेपालको शैक्षिक प्रणालीमा सुधार भइरहेको छ। आठौँ शिक्षा ऐनको संशोधन गर्दै प्रारम्भिक बालशिक्षालाई मुख्य शिक्षा प्रणलीसँग जोड्यौँ। ११ र १२ कक्षालाई माध्यामिक तहमा नै लिएर आयौँ। परिक्षाफललाई लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित गर्न थाल्यौँ।’
मध्यबानेश्वरको रत्नराज्य र सिनामंगलको गुह्येश्वरी माध्यमिक विद्यालयको निरीक्षण गरेपछि मन्त्री पोख्रेलले आफुँहरु परिक्षामा विद्यार्थीलाई अवरोध गर्न भन्दा पनि हौसला बढाउन निरीक्षणमा निस्किएको बताए। उनले भने,‘मन्त्रालयको जिम्मेवारी सम्हालेयता अधिकांश समय संघीय संरचनाअनुसार विकसित हुने शिक्षा प्रणालीको व्यवस्थापनमा व्यस्त भइरहेका छौँ। यसबिचमा छोटो समय निकालेर विद्यार्थीको हौसला बढाउन निरीक्षणमा निस्किएका हौँ।’
सो क्रममा काठमाडौंका जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो।
उनले सरकारले सीप र प्रविधिमा आधारित शिक्षामा जोड दिएको बताए। शिक्षामा छिट्टै नै आफ्नो मार्गचित्र सार्वजनिक गर्ने बताउँदै पोखरेलले भने,‘नेपालको शिक्षाको मुल धार सिप र प्रविधिलाई बनाउँछौँ। चुनावमा हामीले प्रतिवद्धता जनाए अनुरुप नै ७०/३० को अवधारणमा प्रावाधिक शिक्षा र सामान्य शिक्षालाई अगाडि बढाउने तयारीमा छौँ।’
उनले राष्ट्रिय परिक्षा बोर्डले एसइइ परीक्षाको राम्रो तयारी गरेको समेत दावी गरे।
यस वर्षको परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीहरु सामेल हुँदैछन्। परीक्षाका लागि १ हजार ९ सय ५६ परीक्षा केन्द्रमा ६४ हजार ७ सय ६२ जनशक्ति खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।