काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शक बढाउन नयाँ रणनीति ल्याएको छ।
बुधबार पत्रकार सम्मेलन गरी एन्फाले टिकट काटेर खेल हेर्न आउने दर्शकको लागि विशेष प्याकेजको घोषणा गरेको हो।
एन्फाले घोषणा गरेको आकर्षक उपहार लिगको तेस्रो राउण्डदेखि अन्तिम राउन्डसम्म दुई किसिमको हुनेछ। एक खालको पुरस्कार हरेक राउन्डको खेलपछि र अर्को पुरस्कार लिगको समाप्तिपछि घोषणा गरिनेछ।
प्रत्येक राउण्डको समाप्तिपछि २ सय रुपैयाँको टिकट खरिद गर्ने दर्शकहरुबीच गोलाप्रथा गरी विजयी २ जनालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। ५ सयको टिकट काटेर हेर्ने दर्शकका लागि गोलाप्रथाबाट विजयी ५ जनालाई नेपालको राष्ट्रिय टोलीको जर्सी प्रदान गरिनेछ। तेस्रोदेखि अन्तिम राउण्डसम्म २ सय ७५ जना दर्शकले आकर्षक पुरस्कार पाउने छन्।
त्यस्तै प्रतियोगिता समाप्तपछि २ सयको टिकट काट्ने १ जना दर्शक र ५ सय रुपैयाँको टिकट काट्ने २ जना दर्शकलाई नेपाली राष्ट्रिय टिमसँग विदेश भ्रमणको अवसर प्रदान गरिनेछ।
त्यस्तै, एन्फाले अन्य विशेष प्याकेज पनि ल्याएको छ। साधारण प्याराफिटतर्फको १० जना र भिआइपीतर्फको १५ जनालाई विश्वकप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको तथा नेपाल र चाइनिज ताइपेइबीचको खेल हेर्न भिआइपीतर्फ पासको व्यवस्था एन्फाले गरेको छ।
साधारण प्याराफिटतर्फको ५० जना र भिआइपीतर्फको ५० जनालाई विश्वकप छनोट अन्तर्गतको नेपाल र अष्ट्रेलिया तथा नेपाल र चाइनज ताइपेइबीचको खेलको साधरणतर्फको टिकट उपलब्ध गराउने एन्फाले अफर ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।