पोखरा- बाबर हयात र रोहन मुस्तफाको आक्रामक ब्याटिङमा चितवन राइनोजले पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ।
पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर काठमाडौंले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरा २० ओभर खेल्दै ४ विकेट जाँदा १ सय ६७ रन बनाएको हो।
चितवनले नयाँ प्रयोग गर्दै ओपनिङ ब्याटिङमा रोहन मुस्तफासँगै करण केसीलाई पठाएको थियो। करणले ६ बल खेलेर १ रन मात्रै बनाए। मुस्तफाले ५२ बलमा अविजित ५९ रन बनाए। उनले ६ चौका १ छक्का हाने।
बाबर हयातले ४७ बलमा ७० रन बनाए। उनले ३ चौका ६ छक्का हानेका थिए। उनले मुस्तफासँग १ सय १९ रनको साझेदारी गरेका थिए। आरिफ शेखले ९ बलमा १ छक्कासहित १५ रन बनाए। शन्नि पटेलले ८ बलमा १५ रन बनाए।
काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले एक–एक विकेट लिए।
पिपिएलमा अहिलेसम्म चारमा चारै खेल जितेको चितवन ८ अंक तालिकाको शीर्ष स्थानमा छ। चार खेलमा तीन खेल जितेको बुटवल ६ अंकसहित दोस्रो स्थानमा छ। चितवन र बुटवल प्लेअफमा पुगिसकेका छन्।

चार खेलमा दुई जित र दुई हारसहित काठमाडौं तेस्रो स्थानमा छ। पाँच खेल नै खेलिसकेको धनगढी २ जित र ३ हारसहित चौथो स्थानमा छ। चार खेल खेलेको विराटनगर १ जित र ३ हारहित पाँचौँ स्थानमा साथै ५ खेलमा १ खेल मात्र जितेको पोखरा पुछारमा छ।
अब लिग चरणको अन्तिम खेल विराटनगर र बुटवलबीच बुधबार हुनेछ।
यसअघि चितवनले पहिलो खेलमा पोखरालाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा बुटवललाई १ सय १९ रनले हराएको चितवनले तेस्रो खेलमा धनगढीलाई ५२ रनले हराएको थियो। चौथो खेलमा विराटनगरलाई १८ रनले हराएको थियो।
यस्तै पहिलो खेलमा पोखरासँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवलसँग सुपर ओभरमा हारेको थियो। तेस्रो खेलमा काठमाडौंले धनगढीलाई १ सय ६ रनले हराएको थियो। काठमाडौंले चौथो खेलमा विराटनगरलाई ३६ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।