काठमाडौं- मनाङ–मस्र्याङ्दी क्लब डिफेन्डिङ च्याम्पियनमात्रै हैन सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वाधिक उपाधि विजेता टिम हो। तर लिग सुरु हुनुअघि मनाङका ७ स्टार खेलाडीसहित १२ खेलाडी बाहिरिँदा सबैको मुखमा एउटै शब्द झुण्डिन्थ्यो, ‘अब मनाङ सकियो।’
सोमबार दशरथ रंगशालामा विभागीय टिम आर्मी र मनाङको खेल सुरु हुँदै थियो। मनाङका नाइजेरियन प्रशिक्षक तोपे फुजा पनि आर्मीलाई पराजित गर्न सकिन्छ भन्ने कुरामा पूर्ण विश्वस्त थिएनन्।
पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले। बल पोजिसन मनाङको भन्दा आर्मीकै राम्रो थियो। कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विकास खवास, विकेश कुथु लगायतका अनुभवी खेलाडी रहेको आर्मीसँग मनाङले सुरुमा राम्रो खेल्न सकेन।
खेलको २३ औं मिनेटमा आर्मीका सुमन अर्यालले गरेको हेड मनाङका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे। खेलको ३६ औं मिनेटमा मनाङका दयानन्द सिंहले डी बक्सभित्र गोल गर्ने राम्रो अवसर पाएका थिए। तर उनले प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिए।
८४ औं मिनेटमा दीपक गुरुङले दिएको पास डी बक्सभित्र नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन्। खेलको अतिरिक्त समयमा मनाङका दयानन्द सिंहले गोल गर्दै १–० गोलको जित दिलाए।
तस्बिर: निमेशजंग राई/नेपाललाईभ
जितपछि मनाङका प्रशिक्षक फुजाले दंग पर्दै भने, ‘१ अंकका लागि खेलेका थियौं ३ अंक पायौं।’
उनको यो भनाइले मनाङ आर्मीसँग डराएरै खेलेको थियो भन्ने कुरा प्रष्ट हुन्छ। तर यो जितले मनाङलाई ३ अंकमात्रै हैन। फेरि पनि लिग च्याम्पियन बन्न निकै ठूलो राहत दिएको छ। किनभने आर्मी लिगको उपाधि दाबेदार टिम हो।
फुजा भन्छन्, ‘हामीले राम्रोसँग तयारी गर्न पाएका छैनौं। त्यसले गर्दा खेलाडीले आफ्नो क्षमताअनुसार खेल्न सकेका छैनन्।’
लिग च्याम्पियन बन्ने सपना बुनेर मैदानमा उत्रिएको आर्मीले आफ्नो पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गरे पनि मनाङविरुद्धको खेलमा भने चुक्यो।
आखिर कहाँ? यसको जवाफ दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘खेलाडीले पूरै मिहिनेत गरेर खेले। तर हामीले पाएको अवसरमा गोल गर्न सकेनौं। मनाङले पाएको मौका गुमाएन।’
मनाङमा देखिएन सात स्टार खेलाडीको अभाव
यो सिजन कप्तान विराज महर्जन, उपकप्तान सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, दीपक राई, हेमन गुरुङ, एडिलाजा सोमिडे, प्रवेश दनुवार, प्रकाश बुढाथोकी र अफिज ओलावालेले मनाङ छाडे।
त्यस्तै, एएफसी कप दौरान लोनमा भित्रिएका अभिषेक रिजाल र देवेन्द्र तामाङ पनि मनाङमा रहेनन्। कप्तान विराज, सुजल, विशाल श्रेष्ठ, विशाल राई, दीपक, हेमन र एडिलाजा मछिन्द्र क्लबमा अनुबन्धित भए। प्रवेश दनुवार पनि पुलिसमा पुगे भने प्रकाश एनआरटीका कप्तान बने। यता, अभिषेक र देवेन्द्र पनि मछिन्द्रमै पुगे।
योसँगै मनाङको आलोचना भयो। अब के गर्छ मनाङ? तर मनाङले लगातार दुई खेलमा जित हात पार्दै सबैलाई जवाफ दिइसकेको छ। त्यो पनि आर्मी र एपीएफ क्लबजस्ता विभागीय टिमलाई हराएर। मनाङले यसअघि आफ्नो पहिलो खेलमा एपीएफ क्लबलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
जति मनाङलाई स्टार खेलाडी राख्दा जित्नै पर्ने दबाब थियो। त्यो दबाब अहिले छैन। मनाङ विन्दास शैलीमा खेल्ने मुडमा छ। प्रशिक्षक फुजा र क्लबमा अध्यक्ष छिमी उर्गेन गुरुङको भनाइबाट पनि प्रष्ट हुन्छ।
सर्वाधिक ८ पटकका लिग च्याम्पियन मनाङका अध्यक्ष गुरुङ भन्छन्, ‘च्याम्पियन नै बनिने भन्दा पनि सुपर सिक्समा पुग्ने हाम्रो लक्ष्य हो।’
हाम्रो विश्वास युवा खेलाडी: प्रशिक्षक मेघराज
पहिलो खेलमा जावलाखेल युथ क्लबसँग बराबरीमा रोकिएको थ्रीस्टारको टिम सेट ठिक छैन। राम्रो खेलाडीलाई थ्रीस्टारले भित्र्याउन सकेन। यस्ता यस्तै कुरा सुनिन्छ। त्यो थ्रीस्टारकै समर्थकबाट। फुटबलकै पारखीहरु पनि थ्रीस्टारको खेल यसपटक राम्रो नभएको तर्क गर्छन्।
तर यी त सब तर्क र आफ्ना विचार भए। मैदानमा खेल्ने खेलाडीले हो। रणनीति बुन्ने प्रशिक्षकले। सोमबार दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेपछि थ्रीस्टारको हौसला बढेको छ। राहत महसुस गरेका छन् प्रशिक्षकले। खेलाडी पनि खुसी छन्।
तस्बिर: निमेशजंग राई/नेपाललाईभ
पहिलो हाफमा दबाबमा खेलेको थ्रीस्टारले दोस्रो हाफमा सुधारिएको खेल खेल्दै जित निकाल्यो।
खेलको ८४औं मिनेटमा थ्रीस्टारका सुशील राईले कुनै गल्ति नै नगरी वान टचमै गोल गर्दै थ्रीस्टारलाई १–० गोलको जित दिलाए। उनले सुशान श्रेष्ठको क्रस पासमा गोल गर्न सफल भए। सुशील मोरङको लेटाङका खेलाडी हुन्। अघिल्लो सिजन पनि थ्रीस्टारबाट नै खेलका सुशीलको ए डिभिजन लिगमा यो डेब्यु गोल हो।
च्याम्पियन लक्ष्य बुनेका थ्रीस्टारका प्रशिक्षक मेघराज केसी ३ अंकका लागि प्रतिस्पर्धा गरेको र त्यसमा सफल भएको भन्दै आफूहरुको विश्वास युवा खेलाडीमा भएको बताउँछन्। ‘हामीलाई जित्नै पर्ने थियो। जित्यौं। खुसी छु,’ उनी थप्छन्, ‘नेपालको फुटबललाई अध्ययन गरेर हामीले युवा टिम बनाएका छौं। हाम्रो विश्वास नै युवा टिममा छ।’
यता पुलिसका प्रशिक्षक अनन्त थापा भने आफ्नो टिममा फरवार्ड लाइनको समस्या रहेको बताउँछन्। उनले भने, ‘अनुभवी फरवार्ड छैनन्। त्यसले गर्दा पाएको अवसरलाई पनि गोल गर्न सकिरहेका छैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।