काठमाडौँ- यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूले आवश्यक स्थानका अभावमा सडकमै निजी सवारी साधनको प्रदूषणको मात्रा जाँच गर्न थालेको छ।
कार्यालय परिसरमै सवारी साधनको प्रदूषण मात्रा जाँच गरिरहेको कार्यालयले स्थानीयवासीको विरोधपछि मंगलबारदेखि कार्यालय अगाडिको चक्रपथ सडकमै उक्त काम गर्न थालेको हो। यातायात कार्यालय अवस्थित आनन्दनगर टोलसुधार समितिले प्रदूषण जाँचका क्रममा निस्कने धुवाँले बस्तीको वातावरण दूषित भएको र सवारी साधनले सडक जाम भएको भन्दै अन्त सार्न माग गरेपछि कार्यालय परिसरबाट जाँच गर्ने काम सारिएको कार्यालयका नायब सुब्बा काजीबहादुर गिरीले बताए।
प्रदूषण जाँचका लागि थप जग्गा भाडामा लिन कार्यालयले यातायात व्यवस्था विभागमा माग गरे पनि विभागले बजेटको कमी देखाउँदै टार्दै आएको कार्यालयले जनाएको छ।
कार्यालयमा हाल दैनिक करिब एक सय निजी सवारी साधनको उपकरणमार्फत प्रदूषणको मात्रा जाँच गरिन्छ। निजी सवारी साधन भएकाले जाँचमा लगभग सबै सफल हुने गरेको यातायात कार्यालयले जनाएको छ। जाँचपछि कार्यालयले रु ३५ लिएर सबै सवारी साधनलाई हरियो स्टिकर दिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।