दिल्ली- भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये चार महिला र तीन बालबालिका रहेका छन्। आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन्। नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो।
दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएका तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेको बताएका छन्। आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उनले बताए।
घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ। तीमध्ये एकजनाको शरीर १५ प्रतिशत जति जलेर घाइते भएका छन्। अन्य दुईजना भने सामान्य जलेको र उनीहरु सबैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।
रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कुमारले जानकारी दिए। तर यथार्थ पत्ता लगाउन अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको उनले बताए।
भारतको केन्द्रीय राजधानी शहर नयाँ दिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो। यसअघि डिसेम्बर ८ तारिकका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना घटेको थियो। सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो।
मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेका थिए। नयाँ दिल्लीको फिल्मिस्तान क्षेत्रमा रहेको घरमा आगलागी भएको थियो।
घटनामा पिडितहरुलाई केन्द्रीय तथा राज्य सरकारले राहतको घोषणा गरेका थिए भने, अनुसन्धानका लागि टोली पनि परिचालन गरेका थिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।