एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको रामलीला मैदानमा आइतबार भारतीय जनता पार्टीले आयोजना गरेको एक र्यालीलाई सम्बोधन गर्दै नागरिकता संशोधन कानून र एनआरसी देशवासीको विरुद्धमा नभएको बताएका छन्।
र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले संशोधित नागरिकता कानुनलगायत एनआरसीबारे भइरहेको विवादमा विपक्षीप्रति लक्षित गर्दै आफ्नो निर्णयको बचाउ गरे।
‘मोदीलाई देशका जनताले कुर्सीमा बसाले। यो कुरा तपाईंलाई मन परेन भने मोदीलाई गाली गर्नुस्, विरोध गर्नुस्, मोदीको पुत्ला जलाउनुस् तर, देशको सम्पत्ति नजलाउनुस्‚’ उनले भने‚ ‘गरीबको रिक्सा नजलाउनुस्, गरीबका झुपडी नजलाउनुस्।’
मोदीले मतदानबाट देशका लागि चयन भएका सांसदहले गरेको निर्णयको सम्मान गर्न पनि आग्रह गरे।
मोदीले आफ्नो स्वार्थका लागि राजनीतिको दुरुपयोग नगर्न विपक्षीलगायत दललाई आग्रह गरे। झूटा भिडियो र भ्रमपूर्ण समाचारले जनताको भावनालाई नभड्काउन भन्दै उनले सञ्चार माध्यमप्रति पनि आलोचना गरे। उनले राजनीतिक दलले मुसलमानलाई भ्रमित पारेको टिप्पणी गरे।
मोदीले सरकारका तर्फबाट गरीबको भलाइका लागि काम गरेको मुसलमान र हिन्दुको भेद नगरेको जिकीर गरे। स्कूल बस, दुकान, मोटरसाइकल, सार्वजनिक बस र प्रहरीमाथि भएको हिंसाप्रति मोदीले खेद जनाए। उनले स्वतन्त्रतापछि ३३ हजार बढी प्रहरीले सहादत पाएको सम्झाउँदै जनताहरुलाई संयमता अपनाउन आग्रह गरे।
उनले नागरिकता संशोधन कानून भारतका हिन्दु वा मुसलमान कसैका लागि नभएको बताए। यो कानुन भारतमा रहेका १ सय ३० करोड भारतीयका लागि कुनै सरोकार नभएको पनि बताए।
‘अब पनि जो भ्रममा छ, म उसलाई भन्छु, कांग्रेस र ‘अर्बन नक्सली’हरूले यो भ्रम फिजाएका छन्‚ त्यो सबै झूटो हो‚’ उनले भने‚ ‘हिन्दुस्तानको माटोका मुसलमानलाई नागरिकता कानुन र एनआरसी दुवैको केही सरोकार छैन।’
मोदीले कसैले ‘सीएए’ गरीबको विरुद्धमा ल्याइएको र बाहिरबाट आएका मानिसले यहाँको हक खोसेर लिन्छन् भन्दै राजनीतिक दल र नेताले उकासेको र भ्रम फैलाएको भनी आक्रोश पोखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।