काठमाडौं- बाल यौन दुराचारको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका संयुक्त राष्ट्र संघका पूर्व कर्मचारीसमेत रहेका क्यानेडेली नागरिक पिटर जोन डालगिल्स उच्च अदालत पुगेका छन्। आफूमाथि अन्याय भएको दाबी गर्दै डालगिल्स उच्च अदालत पुगेका हुन्।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रमाणको सही विश्लेषण नगरी फैसला सुनाएकाले बदर हुनुपर्ने जिकीर गर्दै उच्च अदालत पाटनमा उनले पुनरावेदन गरेका हुन्।
नेपालमा भएको बाल यौन दुराचारमा सबैभन्दा हाई प्रोफाइल व्यक्ति संलग्न भएको भनी प्रचार गरिएको उक्त मुद्दा जिल्ला अदालत काभ्रेले ९ वर्ष र ७ वर्ष कैदको सजाय सुनाएको थियो। २ बालकमाथि यौन दुराचार भएको भन्दै जिल्ला अदालतले दुवै मुद्दामा कुल १६ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।
जिल्ला अदालतले अनुसन्धानका क्रममा सिआइबीले खिचेको भिडियो, बरामद भएका अन्य प्रमाणको सही विश्लेषण नगरी फैसला सुनाएको जिकीर डालगिल्सको छ।
जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले बालकहरुको बयानमा आधार बनाउँदै डालगिल्सलाई दोषी ठहर गरेको थियो। २०७५ जेठ २६ गते उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको काभ्रे जिल्ला अदालतले सुनाएको थियो। उक्त मुद्दामा सरकारी पक्षले पनि कम सजाय भएको भन्दै पुनरावेदन दर्ता गरेको छ। दुवै निवेदन मंगलबारका लागि पेसीमा चढ्दै छन्।
प्रहरीले उनलाई २०७४ चैत २५ गते बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो। विपन्न परिवारका बालबालिकालाई पढाइदिने भन्दै आश्वासन देखाएर जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने गरेको आरोप उनीमाथि लागेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले डालगिल्सलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको थियो।
डालगिल्सले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली २ वर्षयता नेपालमा पटक–पटक आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनीविरुद्ध काभ्रे जिल्ला अदालतमा २०७५ बैसाख १९ गते मुद्दा दायर भएको थियो। नयाँ मुलुकी संहिताअनुसार उनलाई दोषी ठहर गरिएको थियो।
डालगिल्सले सन् २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्र संघमा काम गरेका थिए। डालगिल्सको हिमालयन कम्युनिटी फाउण्डेसनले शिक्षा र खानेपानीका क्षेत्रमा काम गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।