काठमाडौं- नागरिकता संशोधन गर्ने कानुनविरुद्ध भारतमा आन्दोलन चर्किँदै गएको छ। भारतमा जारी आन्तरिक विरोध प्रदर्शनका कारण त्यहाँ आउन तय भएका कैयौं विदेशी भ्रमण रद्द भएका छन्।
भारतमा जारी आन्तरिक अस्थिरताकै कारण जापानी प्रधानमन्त्री सिञ्जो आवेले भारत भ्रमण रद्द गरेका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गुहाटीमा भेटघाट र वार्ता गर्ने कार्यक्रम थियो।
प्रस्ट शब्दमा भारतको आन्तरिक कारण ताएको भए पनि त्यसकै कारण बंगलादेशका विदेशमन्त्री मन्त्री एके अब्दुल मोमेनले आफ्नो पूर्वनिर्धारित भारत भ्रमण रद्द गरेका थिए। भारतमा जारी आन्तरिक राजनीतिक गतिरोधकाबीच पनि भारत र चीनबीच सीमा सम्बन्धी विवाद सुल्झाउन वार्ता भएको छ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार चिनियाँ विदेश मन्त्री र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभलबीच सीमा सम्बन्धी विवाद अन्त्य गर्ने विषयमा वार्ता भएको छ। विशेष प्रतिनिधि संवाद अन्र्तगत सीमा सम्बन्धी मुद्दामा छलफल गर्न उनीहरुबीच वार्ता भएको हो।
नयाँ दिल्लीमा भएको वार्तामा चीन र भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न र सीमा सम्बन्धी मुद्दालाई उचित तरिकाले सम्बोधन गर्न राजनीतिक विश्वास बढाउन सहमत भएको त्यहाँका संचारमाध्यामहरूले जनाएका छन्।
सीमा सम्बन्धी विषयमा दुई देशका विशेष प्रतिनिधिबीच भएको यो २२औं बैठक हो।
नेपाललाई बेवास्ता
देशभित्रको अप्ठ्यारो परिस्थितिकाबीच पनि चीनसँग सीमा विवादमा वार्ता गर्न तयार भएको भारतले यस्तै विषयमा कुराकानी गर्न भने आनकाकानी गरिरहेको छ।
२ नोभेम्बरमा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू-भाग कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक समेत)लाई समेटेपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ।
भारतको उक्त कदमप्रति नेपालको परराष्ट्र मन्त्रालयले नभेम्बर ६ मा वक्तव्य जारी गर्दै उक्त भू-भाग नेपालको भएको, एकतर्फी ढंगले गरिने अन्तर्राष्ट्रिय सीमा हेरफेर नेपालका लागि स्वीकार्य नहुने र यस समस्याको समाधान कूटनीतिक माध्यमबाट हुनु पर्ने धारणा सार्वजनिक गरेको थियो।
नभेम्बर १० प्रधानमन्त्री केपी शर्मा ओलीले यसै विषयमा सर्वदलीय र सर्वपक्षीय वृहत्तर भेला आयोजना आयोजना गरेका थिए।
नेपालले नोभेम्बर २० भारतसमक्ष कूटनीतिक नोट पठाएर यस सम्बन्धी आफ्नो दृष्टिकोण स्पष्ट पारेको थियो। त्यस्तै नभेम्बर २३ मा नेपाल र भारतका परराष्ट्र सविच स्तरीय बैठकको मिति प्रस्ताव गर्दै भारतलाई पत्र पठाइएको थियो।
तर, भारतले अहिलेसम्म यसको कुनै जवाफ दिएको छैन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषयलाई उठाएका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सीमा मिचिएको बारेमा भारतले अहिलेसम्म कुनै जवाफ नदिएको बताएका छन्।
नेकपा संसदीय दलको बैठकमा बोल्दै शुक्रबार प्रचण्डले सरकारले भारतलाई कूटनीतिक नोट पठाएको तर भारतका तर्फबाट कुनै जवाफ नआएको जानकारी गराएका थिए।
२६ मंसिरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेपाल-भारत सीमा विवादसम्बन्धी बैठक कहिले हुन्छ भन्न नसकिने बताएका थिए।
‘यो मञ्चबाट म यो विषयमा केही बताउन सक्दिनँ,’ नियमित साप्ताहिक पत्रकार सम्मेलनमा कुमारले भनेका थिए, ‘यो विषयमा जे हुने हो, त्यो कुटनीतिक च्यानलबाटै हुनेछ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।