कञ्चनपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन्।
धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए।
घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते हुनेमा बाजुराका २६ वर्षीय गौरी बोहरा, ४२ वर्षीय तुलाराम जोशी, ३५ वर्षीया लीला थापा, उनकै डेढ वर्षीय छोरा सुमन थापा, ३६ वर्षीय दुर्गा जोशी रहेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिका ३५ वर्षीय जयराज भट्ट, ५५ वर्षीय जयबहादुर काफ्ले, ६२ वर्षीय खडकराज जोशी गोदावरी नगरपालिकाका ५५ वर्षीय दलबहादुर विष्ट र ३७ वर्षीय दानसिंह धामी पनि घाइते भएको जोशीले बताए।
दुर्गा जोशीको अवस्था गम्भीर छ। बसका चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।