दोस्रो विश्वयुद्धका दौरान वैवाहिक जीवनमा बाँधिएका क्यानेडेली जोडीले जिन्दगीका ७५ वर्ष सँगै बिताए। ७५ औँ वर्षगाँठ मनाएर अस्पताल भर्ना भएका ती जोडीले एकैदिन संसार छाडे। अस्पतालको शय्यामा श्रीमान् र श्रीमतीको मृत्यु भएको हो।
अगस्ट २२ सन् १९४२ मा जर्ज स्पीयर र जीन स्पीयर वैवाहिक बन्धनमा बाँधिएका हुन्। डान्सबारमा नृत्यका क्रममा भेट भएका उनीहरुको प्रेम विवाह भएको थियो। विवाहको ७२औँ वर्षगाँठको कार्यक्रममा जर्जले आफ्नो राज खोलेका थिए। डान्सबारमा जीनले जर्जसँग नाच्ने प्रस्ताव गरिन्। आफ्नो ७२ औँवर्षगाँठमा जर्जले भनेका थिए, 'उनले मलाई नाच्ने प्रस्ताव गरिन्। मैले स्वीकार गरेँ र त्यहीँबाट जिन्दगीको नयाँ अध्याय सुरु भएको थियो।'

सन् १९४४ मा इटलीमा तालिम सकेर सैनिक टोलीसँगै जर्ज क्यानडा फर्किए। पति सैनिक टोलीसँगै जानुपर्ने भएपछि जीनले छुट्टै ट्रेनमार्फत यात्रा तय गरिन्। जब ट्रेन ओटावा पुग्यो, हिमवर्षा भयो। हिउँ परिरहेका बेला उनी अत्तालिइन्। संयोग, उनका पति जर्ज त्यहाँ आइपुगे र आफूले लगाइरहेको बाक्लो कोट फुकालेर जीनलाई दिए। 'त्यस्तो हिमवर्षा मैले पहिलोपटक अनुभव गरेको थिएँ। जाडोले कामिरहेको थिएँ। डर लागिरहेको थियो।मलाई लागेको थिएन कि मेरो जर्जसँग भेट हुन्छ तर संयोग उनी त्यहाँ आए र मलाई आफ्नो कोट फुकालेर ओडाइदिए,' सन् २०१४ मा बिबीसीलाई अन्तरवार्ता दिँदै जीनले त्यो पल स्मरण गरेकी थिइन्।

जीनले सैनिक श्रीमतीहरुको क्लब खोलेकी थिइन्। त्यो क्लबबाट उनले पुर्यायएको योगदानको कदरमा सन् २००६ मा उनलाई सम्मान गर्ने कार्यक्रम तय भयो। बेलायती महारानीको हातबाट उनले 'अर्डर अफ द ब्रिटिश अम्पाएर' को सम्मान पाएकी थिइन्।
सन् २०११ मा राजपरिवारका सदस्य ड्युक डच्सले आयोजना गरको राजकीय कार्यक्रममा स्पीयर दम्पतीलाई पनि आमन्त्रण गरिएको थियो। रिसेप्सनमा जर्जले आफ्नो सेक्रेट कप ल्याएका थिए, जसमा जीनको विवाहभन्दा अघिको फोटो थियो। डच्सले उत्सुकतापूर्वक सोधेका थिए, 'के तिमीले सधैँ यो तस्बिर आफूसँगै राख्यौ?'
जर्जले जवाफ दिएका थिए, 'हो युद्ध लड्न गएदेखि आजसम्म यो तस्बिर मसँग छ र जिन्दगीभर रहनेछ।'
अस्पतालमा भर्ना हुँदासमेत जर्जसँग त्यो तस्बिर सँगै थियो। गत शुक्रबार त्यही तस्बिर च्यापेरै उनी संसारबाट बिदा भए। ९४ वर्षकी जीनलाई निमोनियाका कारण अस्पतालाई भर्ना गरिएको थियो। त्यसको एकदिनपछि ९५ वर्षीय जर्ज पनि अस्पताल भर्ना भए। जर्जको स्थिति नाजुक बन्दै गएपछि जीनको शय्यासँगै राख्ने तरखर अस्पतालका कर्मचारीले गरेका थिए। श्रीमतीको शय्यामा पुर्याफउनुअघि नै जर्जको मृत्यु भयो। उनको मृत्यु भएको ५ घन्टापछि अस्पतालमै जीनले पनि प्राण त्यागिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।