काठमाडौं– बलात्कारको प्रयास गरेको आरोप लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनले धरौटीमा छाड्न अस्वीकार गरेको छ।
संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि थुनामै रहने भएका छन्।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुबेदी र टेकनारायण कुँवरको इजलाशले यस्तो आदेश गरेको हो । जिल्ला अदालत काठमाडौकोे आदेशले महरा थुनामा थिए ।
यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो । बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय गरेको हो।
.jpg)

संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो। सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पनि पुगेका थिए। उच्चले जिल्लाको आदेश मगाउनेबाहेक अर्को सुनुवाइ गरेको छैन। तत्कालीन अवस्थामा प्रमाणहरू प्राप्त भएको भन्दै अदालतले उनलाई थुनामा पठाएको थियो। महराविरुद्ध बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ।
उनले आफू बलात्कारका लागि नभई सम्झाउन पुगेको तर आफूमाथि गलत आरोप लगाएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् ।
महराले आरोपीसँग अभिभावकको सम्बन्ध भएको स्वीकार गर्दै यस्तो आरोप किन लगाइन् त्यसबारे आफू अनभिज्ञ रहेको दाबीसमेत बयानदेखि नै गर्दै आएका छन्।
बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।
महराको पक्षमा रमण श्रेष्ठ, साबित्री भन्डारी, शेरबहादुर केसी, भोजराज आचर्य र लव मैनालीले बहस गरेका थिए भने रोशनी शाहीका तर्फबाट युवराज श्रेष्ठले बहस गरेका थिए। यस्तै, सरकारका तर्फबाट २ सरकारी वकिलले बहस गरेका थिए। इजलाशले रोशनीको पनि बयान लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।