सप्तरी- तीन दिनदेखि एक्कासि बढेको चिसोले सप्तरी लगायत तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। वाक्लो हुस्सुसँगै बिहानैदेखि चल्ने चिसो सिरेटोले सर्वसाधारणको जनजीवन प्रभावित भएको हो।
बिहानैदेखि खुल्ने बजार÷पसल चिसोका कारण ९/१० बजेसम्म बन्द हुने तथा बेलुका पनि चाँडै बन्द हुने गरेका छन्। चिसो बढेपछि बजारमा सर्वसाधरणको चलपहल घटेको र आफू समेत निस्कन सक्ने अवस्था नरहेपछि पसल ढिलो गरी खोल्ने गरेको राजविराजका व्यापारी वैजु जोशीले बताए। यद्यपि, जाडोमा लगाउने कपडाको बिक्री भने बढेको उनले बताए।
सप्तकोशीका विद्यालय बन्द
अकस्मात रुपमा बढेको चिसोले सप्तरीको सप्तकोशी नगरपालिकाका सामुदायिक विद्यालय ५ दिनका लागि बन्द गरिएको छ।
शीतलहरका कारण विद्यार्थीको संख्या घटेको र जनजीवनमा समेत असर पर्ने देखिएपछि आगामी सोमबारसम्मका लागि बिदा दिने निर्णय गरिएको नगरपालिकाको शिक्षाले जनाएको छ। आइतबारसम्म अवस्था मूल्यांकन गरेर मौसममा सुधार आए सोमबारदेखि सञ्चालन गर्ने र मौसम प्रतिकूल हुँदै गए थप केही दिन विद्यालय बन्द गर्न सकिने शिक्षा शाखा प्रमुख रामदेव चौधरीले बताए।
‘सामुदायिक विद्यालयमा अधिकांश विद्यार्थी दलित र विपन्न वर्गका छन्,’ उनले भने, ‘तातो र पर्याप्त कपडा पनि नहुने भएकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।’
सप्तकोशी नगरपालिकामा मावि ४ र आधारभूत ७ गरी ११ वटा सामुदायिक विद्यालय छन् भने कूल ३ हजार ६ सय ३६ विद्यार्थी अध्ययनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।