काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत च्यासल युथ क्लबले सङ्कटालाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको लिगको दोस्रो खेलमा च्यासलले सङ्कटालाई २-० गोलले हराएको हो
च्यासलका लागि कप्तान सन्तोष साहुखलले दुई गोल गरेका थिए। उनले पहिलो हाफको ४१औँ मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको ८४औँ मिनेटमा सन्तोषले नै दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी गराएका थिए। उनी खेलको म्यान अफ दी म्याच भए। जितसँगै च्यासलले तीन अङक जोडेको छ।
यसैगरी त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटलब सङ्घ) कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले एक/एक गोल गरे। यता फ्रेन्ड्सको लागि भने शक्ति राईले एक सान्त्वना गोल फर्काए। नवयुगले खेलको तेस्रो मिनेटमै गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए। उनले फ्रेण्ड्सको गोलरक्षक अगाडि बढेको अवस्थामा गोल गरेका थिए ।
खेलको ५०औँ मिनेटमा फ्रेण्ड्स क्लबका खेलाडी शक्तिले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए। त्यो एक एक गोलको बराबरी लामो समयसम्म टिक्न सकेन। खेलको ८१औँ मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए। भरत खवासले प्रहार गरेको कर्नर बल विमल पाण्डेको हेडरमा अनमार्क रहेका उनले वान टच गोल गरेका थिए । जितसँगै आर्मीले शीर्ष तीन अङ्क जोडेको छ ।
लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौं हुनेले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ। हरेक खेलको विजेताले रु ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ। यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही रु एक लाख ५० हजार प्राप्त गर्ने छन्। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई रु १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले रु एक लाख पुरस्कार पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।