काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्न खाडी र त्यस आसपासका मुलुकका लागि नेपाली राजदूतहरुको भेला सम्पन्न भएको छ।
ओमनस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्ष २०२० अभियान सचिवालयसँग सहकार्य गरेर नेपाली राजूतसँग अन्तरक्रिया आयोजना गरेको हो।
मस्कटमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा साउदी अरविया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, कुवेत, इजिप्ट, इजरायल र पाकिस्तानका लागि नेपाली राजदूतहरु सहभागी थिए।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अन्तरक्रियाको अध्यक्षता गरेका थिए।
अन्तरक्रियामा अधिकारीले नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने विभिन्न रणनीतिबारे जानकारी दिएका थिए। उनले विदेशमा रहेका राजदूतहरुबीच यो विषयमा समन्वय हुनुपर्ने धारणा राखेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।
कार्यक्रमलाई परराष्ट्र सचिव शंकरदास बैरागीले पनि सम्बोधन गरेका थिए। उनले विदेशमा नेपालका मुख्य आकर्षणबारे विशेष गरी युवामाझ प्रचार गर्न रचनात्मक र विधि प्रयोग गर्न आग्रह गरेका थिए।
अन्तरक्रियामा सहभागी विभिन्न देशका लागि नेपाली राजदूतहरुले आफू कार्यरत देशमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न बनाएका योजनाबारे प्रस्तुति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।