पोखरा– 'मेरो सभापतिलाई जहाँनेर बचाउनुपर्ने हो बचाउँछु, जहाँनेर सुधार्नुपर्ने हो सुधार्छु। र, मेरो क्षमताले भ्यायो भने समय आउँदैछ बदल्छु'
नेपाल आइएमई लिट्रेचर फेस्टबिलको तेस्रो दिनको पहिलो सेसन 'अबको नेतृत्व कस्तो' भन्ने बहसमा नेपाली कांग्रेसका नेता गगन थापाले दिएको अभिव्यक्ति हो।
नयाँ नेतृत्व र नयाँ नेताबारे चलेको बहसमा नेता थापासँगै पर्यटनमन्त्री योगेश भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र उत्रिएका थिए।
बहसलाई सहजीकरण गरिरहेका थिए पत्रकार उमेश चौहानले।
बहसका क्रममा मन्त्री भट्टराईले भने नेतृत्व जोखाना हेरेर जन्मिने नभई लामो प्रकियाबाट जन्मिने बताए। 'कुनै पनि देशमा नेतृत्व सजिलै स्थापित हुँदैन। एजेण्डा बलियो हुनुपर्छ। नेपालका राजनीतिक दलले अनेक प्रकोपको सामना गरेर यहाँसम्म आइपुगेका छन्,' मन्त्री भट्टराईले भने।
साझा पार्टीका संयोजक मिश्रले भने अहिलेको ठूला भनिएका राजनीतिक दलले स्वस्थ र बलियो नेतृत्व जन्माउन नसक्ने तर्क राखे।
राजनीतिक नेतृत्वको आचरण गलत भएको भन्दै नयाँ नेतृत्वबारे उनले भने, 'हामी यस्तो नेतृत्व चाहन्छौं जसले बालुवाटार वा आलम काण्ड नगरोस्।'
ठूला राजनीतिक दलहरूको संरचनाप्रति नै उनले आपत्ति जनाए।
'अहिलेका राजनीतिक दल हतियार नबोकेका लडाकु हुन्। गाउँको स्कुलमा पढाउने शिक्षक शिक्षक नभई कांग्रेस कम्युनिष्ट हो। अहिलेको दलले यस्तो संरचना बनाएको छ, जहाँ कुनै नागरिक परेन भने उसले आफ्नो जीवन सुरक्षित ठान्दैन। यो हतियार नबोकेको फौजी संरचना नसुध्रे कयौं आशाका नेता बेकम्मा सावित हुन्छन्।'
मिश्रको विचारप्रति भिन्न मत राख्दै नेता थापाले सबै खराब आफू राम्रो भन्नु गलत भएको तर्क राखे।
'हामीले गलत कुराहरू छाड्ने। पहिलाको नेतृत्वबाट मिल्ने लिनेमात्र लिने हो। लिन नमिल्ने छोड्ने हो। हामीले आफैंभित्रको लडाइँ केही कुरा लिन र हटाउनको निम्ति हो,' गगनले भने।
गगनले अरुको निययमा प्रश्न गर्न सजिलो तर जिम्मेवारीमा बसेर काम गर्न कठिन हुने उल्लेख गरे।
हरेक नेतृत्वमा निश्चित सीमा हुन्छ: भट्टराई
'लाखौं युवा खाडीमा छन् तपाईं मन्त्री हुँदा किन उनीहरूको लागि नेपालमै अवसरको माहोल र एजेण्डा किन बन्दैन,' प्रस्तोता चौहानले मन्त्री भट्टराईतर्फ प्रश्न तेर्स्याए।
यो प्रश्नमा त्यति गम्भीर नदेखिएका मन्त्री भट्टराईले नेता मिश्रको आरोपको जवाफ दिनतर्फ लागे, 'नेकपा र कांग्रेसले चलाएको डोजरले मैदान सम्याउन नसकेको भए गगन थापाजी र म मसाल जुलुस गरिरहेका हुन्थ्यौं। रवीन्द्र मिश्रजीले बिबिसीमा हाम्रो समाचार फुकिरहेका हुन्थे। र, हामी बेलुका बसेर भन्थ्यौं रविन्द्रले क्या गजब गरे भनेर गफ गरिरहेका हुन्थ्यौं।'
हरेक नेतृत्वमा निश्चित सीमा हुने योगेशको तर्क थियो।
त्यसैगरी नयाँ नेतृत्वमा भिन्नता कर्मबाट देखिने र नयाँ पुस्ताले कर्मबाट देखाउने बताए।
गैरराजनीतिक आन्दोलनमार्फत नयाँ नेतृत्व
बहसको केन्द्रीय विषय नै नयाँ नेतृत्व कसरी आउँछ भन्ने थियो। राजनीतिक आन्दोलनभन्दा फरक तबरबाट पनि नेतृत्व आउन सक्ने सहभागी नेताहरूको दाबी थियो। नयाँ नेतृत्वको खडेरी भइरहेको चिन्ता व्यक्त गर्दै 'रियालिटी सोबाट नेता उत्पादन गर्नुपर्ने अवस्था आयो नि' भन्ने प्रश्नमा गगनले भने, 'अफ्ठेरोको बीचमा संघर्षबाट नेतृत्व आउने हो। पार्टीभित्र फरक तबरले आउँछन्। जुनबाटोबाट आयौं त्यहीबाटोबाट आउनुपर्छ भन्ने छैन।'
उनले थपे, 'नर्सरी नयाँ खोज्ने हो। अब फरक बाटोबाट मान्छे आउनुपर्छ। नागरिक र सामाजिक आन्दोलनबाट आउनुपर्छ। त्यही आन्दोलनबाट नै ऊ स्थापित हुनुपर्छ।'
नेता मिश्रको भने अबको वैकल्पिक पार्टीले नै नयाँ नेता नेतृत्व जन्माउन सक्ने दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।