काठमाडौं-नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तासहितको नक्सा अविलम्ब सार्वजनिक गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ।
भारतले नेपाली भूमि समेटेर हालै जारी गरेको नयाँ नक्साबारे शुक्रबार समितिले गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो।
अतिक्रमित भूमि फिर्ता लिन भारत सरकारसँग राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्न निर्देशन दिएको समितिले कालापानी क्षेत्रमा बसोबास गरेका नेपालीको सहज आवतजावत गर्न बाटो र अन्य सुविधाको व्यवस्था गर्न समेत सरकारलाई सुझाव दिएको छ।
सरकारको आलोचना
समितिको छलफलमा अहिलेसम्म नयाँ नक्सा जारी नगरेको भन्दै सत्तारुढ दलकै सांसदले सरकारको आलोचना गरेका थिए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले प्रतिक र चिन्हमा समेत नेपाली भूभाग नराखेको भन्दै ती बनाउनेलाई कारबाही गर्न सरकारको ध्यानार्कषण समेत गराएका थिए।
‘हाम्रा प्रतिक चिह्नमा हाम्रा भू-भाग नआउने गरी राखिएको छ,’ रावलले छलफलमा भनेका थिए, ‘ ती प्रतिक चिह्न बनाउनेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु। हाम्रो भूमि नक्सामा राख्न नापी विभागलाई केले राक्यो ? भारतले, वार्ताले ? हाम्रो नक्सा यो हो भनेर छाप्न के ले रोक्यो ?’
रावलले विशेष दूत पठाउने कुरामा सरकार र सत्तारुढ दलकै भनाइ बाझिएको भन्दै आलोचना गरे। रावलले भने, ‘विशेष दूत पठाउने र नपठाउने भन्ने विषयले प्रतिकूल प्रभाव पर्छ। मन्त्री एक कुरा भन्ने सरकारको दल अर्को भन्ने। हामी दार्चुलामा घोडेटो बाटो पनि बनाउन नसक्ने अवस्थामा छौं। रूपन्देहीमा नेपाली भूमिमा भारतले बाटो बनाउन थालेको छ। त्यसलाई रोक्न त सकिएला ? कूटनीतिक पहल गर्नुपर्छ।’
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन
छलफलमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले कालापानीको विषयलाई सरकारले हल्काफुल्का किसिमले लिएको आरोप लगाए। ‘वर्तमान सरकारको तदारुकता के भइरहेको छ भन्ने नागरिक समाज र चासो राख्नेलाई जानकारी छैन,’ सिंहले भने, ‘संवेदनशील विषयमा सरकारले के गरिरहेको छ? कूटनीतिक पहल के गरिरहेको छ? हल्काफुल्का किसिमले लिएको भान भइरहेको छ।’
नेकपा सांसद मोहन बानियाँले कालापनी लगायतको समस्या समाधान नभए त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए। ‘कूटनीतिक तवरबाट सीमा समस्या समाधान गर्नुपर्छ, बानियाँले छलफलमा भाग लिँदै भने, ‘समाधान भएन भने अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। १ थोपा पानी र १ इन्च माटो अरूलाई दिनुहुन्न। कि त छिमेकी सुध्रिनु पर्यो होइन भने सँगै बस्न सकिँदैन। मैले पहिले पनि भनेको छु कि भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ।’
सीमा बचाउ अभियानले सार्वजनिक गरेको लिम्पियाधुरासहतिको नेपालको नक्सा
नेकपाकै अर्का सांसद अग्नी सापकोटाले सरकारका प्रवक्ता गोकुल बास्कोटाले भारतसँग ९८ प्रतिशत सीमा विवाद मिलेको भन्ने वक्तव्य दिएको भन्दै आलोचना गरे। ‘सरकारका प्रवक्ताको कुरा पनि ९८ प्रतिशत विवाद मिल्यो र २ प्रतिशत मात्रै बाँकी छ भनेर भारत भन्छ भन्ने कुरा आएको छ भनेर भन्नुभयो। यो विषय कूटनैतिक तवरले कुनै हालतमा समाधान हुन्न, सरकारका प्रवक्ताले यो तत्काल समाधान गर्नुपर्छ। सरकारका प्रवक्ताले भइहाल्छ भन्दा उदेक लाग्छ। भारतले सोची सम्झी सीमा मिचेको छ।’
कांग्रेस सांसद उमा रेग्मीले दुई देशको राजनीतिक तहमा समाधान गर्ने विषयमा सचिवस्तरीय वार्ताबाट समाधान नहुने भन्दै भनिन्, ‘दुई तिहाइ बहुमतको सरकारले के गरिरहेको छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।