लुम्बिनी- ४१ वर्षअघि बनेको लुम्बिनी गुरुयोजनालाई ३ वर्षभित्र सक्नेगरी कामलाई तीव्रता दिने भएको छ। जापानी वास्तुकलाविद् प्रोफेसर डा केन्जो टाँगेले बनाएको गुरुयोजनाको हालसम्म ८२ प्रतिशत काम सकिएको छ।
कोषका सदस्य–सचिव सरोज भट्टराईले आगामी ३ वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिए। गुरुयोजना निर्माण भएको चार दशकपछि लुम्बिनीले आफूलाई सुन्दर र दरिलो पर्यटकीय गन्तव्य बनाउँदै लगेको छ। गुरुयोजनाअन्तर्गतका निर्माणका अधिकांश ठूला काम अन्तिम चरणमा पुगेर लुम्बिनी क्षेत्रमा यतिखेर सौन्दर्यकरणको काम चलिरहेको छ।
विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ विगाहा क्षेत्रफल ओगटेको छ।
संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव उ थान्तले सन् १९६७ अप्रिल १३ मा गरेको भ्रमणलाई लुम्बिनीको योजनाबद्ध विकासको ‘कोसेढुंगा’ मानिन्छ। भ्रमणका क्रममा अस्तव्यस्त अवस्थामा लुम्बिनी देखेपछि उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए। उनले गरेको प्रस्तावलाई सरकारले स्वीकार गर्दै सन् १९७२ मा जापानी वास्तुविद् प्रा.केन्जो टाँगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिए। उनले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना स्वीकृत भएपछि योजनाबद्ध लुम्बिनी विकास आरम्भ भएको हो।
लुम्बिनीको तीन वर्गमाईल जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरिएको छ। उत्तरतपर्mको एक वर्गमाईल क्षेत्रलाई लुम्बिनीग्राम, अर्को एक वर्ग माईलको भूखण्डलाई शैक्षिक, साँस्कृतिक तथा अन्तर्राष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामाकरण गरिएको छ। बाँकी एक वर्ग माईलको दक्षिण तपर्mको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ। बुद्धले पहिलो पाईला टेकेको स्थान भएकाले पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ। यहाँ लुम्बिनीकै आकर्षण मायादेवि मन्दिर, अशोक स्तम्भ लगायतका संरचना छन्। कोषले गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्राजस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने कोषको दाबी छ। ८२ प्रतिशत काम सकिएसँग अहिले पनि लुम्बिनी स्वर्गको एक टुक्राजस्तै देखिन थालेको छ।
३ वर्षभित्र गुरुयोजना पुरा हुँदा सौन्दर्यीकरणका कामसमेत सकेर लुम्बिनीलाई संसारकै पवित्र र नमुना आध्यात्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखेर काम गरिरहेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) ले बताए। ‘बौद्ध धर्मावलम्बीका साथै आम मानिसका लागि लुम्बिनी एक पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो,’ उनले भने, ‘विश्वका बुद्ध अनुयायीहरू एकपटक जसरी पनि लुम्बिनी पुग्नुपर्छ भन्ने मान्यता राख्छन्, हामीले यो कुरालाई ध्यानमा राखेर लुम्बिनीलाई स्वर्गको एक टुक्राजस्तै बनाउने प्रयत्नमा जुटेका छौं।’
ठूला आयोजना निर्माण धमाधम
सदस्य सचिव भट्टराईले लुम्बिनीमा ठूला आयोजना निर्माणको काम धमाधम अघि बढेको बताए। उनका अनुसार कतिपय आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। लुम्बिनीमा ५ हजार अट्ने सम्मेलन तथा मेडिटेसन सेन्टर निर्माणको काम तीव्र गतिमा भईरहेको छ। लुम्बिनीमा हुने बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सम्मेलन केन्द्र निर्माण हुँदै छ। केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको कोषको भनाइ छ। पहिलो चरणको काम तीव्र गतिमा भईरहेका कारण आउँदो बुद्ध जयन्ती यही सम्मेलन केन्द्रमा गर्ने कोषको तयारी छ। बुद्ध जयन्तीसम्म पहिलो चरणको काम सम्पन्न गर्ने उद्देश्यअनुरुप अहिले २÷३ सिफ्टमा काम भईरहेको छ। ८ हजार ५ सय वर्गफिटमा निर्माण भईरहेको सम्मेलन केन्द्र ३१ करोड ८९ लाख ९५ हजारको लागतमा निर्माण हँुदै छ। दोश्रो चरणअन्तर्गतको शौचालय, सौन्दर्यीकरण लगायतको कामका लागि डिजाईन तयार हुँदै गरेको कोष सदस्य–सचिव भट्टराईको भनाइ छ।
त्यस्तै लुम्बिनीको अर्को महत्वपूर्ण ठूलो आयोजना हो व्यवस्थित बिजुली व्यवस्थापन। गुरुयोजनाभित्रका सबै संरचनालाई आवश्यक पर्ने बिजुली व्यवस्थापनको काम पुस मसान्तसम्म सक्नेगरी अगाडि बढेको कोषले जनाएको छ। हालसम्म बिजुली व्यवस्थापनको काम ९५ प्रतिशत सकिएको कोषको दाबी छ। यो काम सम्पन्न भएपछि लुम्बिनीमा आफ्नै बिजुलीको व्यवस्था हुनेछ। त्यसका लागि ५० किलोमिटर गुणस्तरीय केवल लाग्नेछ। उक्त तार जडानका लागि पोल निर्माणको काम सकिएको छ। लुम्बिनीभित्र ५ सय ८० वटा सोलार, मायादेवी मन्दिर वरिपरी ३ सय ३३ वटा विशेष किसिमको गार्डेन लगाउने काम सुरु भएको छ। त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफर्मर राख्ने काम सुरु भएको छ। यसपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ भने लुम्बिनीमा बांगिएका, खिइएका तार, पोल सबै हट्ने छन्। बिजुली व्यवस्थापनको काम २६ करोड २८ लाख ६६ हजारको लागतमा हुँदै छ।
गुरुयोजना क्षेत्रभित्र अप्टिकल फाईबर भूमिगतरुपमा बिच्छयाउने तथा डाटा सेन्टर राख्ने काम पनि तीव्र रुपमा अगाडि बढेको छ। लुम्बिनीलाई सूचना प्रविधिमा पनि अब्बल बनाउनका लागि १ सय ७५ वटा अत्याधुनिक सिसिटिभि क्यामेरा जडान अन्तिम चरणमा पुगेको कोषका सदस्य सचिव भट्टराईले उल्लेख गरे। गुरुयोजनाका ४ वटा विभिन्न स्थानमा ठूलो डिस्प्ले राख्ने काम अन्तिम चरणमा रहेको उनले बताए। लुम्बिनीमा ६० हजार मानिसले वाईफाई चलाउने सकिने गरी प्रविधि जडानको काम सुरु भएको छ। त्यसका लागि डाटा किन्ने प्रक्रिया अगाडि बढेको कोषले जनाएको छ। ९० प्रतिशत काम सम्पन्न भएको उक्त आयोजनाको लागत २५ करोड ६४ लाख ३७ हजार छ।
लुम्बिनीमा व्यवस्थित खानेपानीका लागि १ लाख ५० हजार लिटर अट्ने वाटर टावर निर्माणको काम सकिएको छ। २१ करोड ९३ लाख २३ हजारको लागतमा निर्माण सम्पन्न उक्त टावर सञ्चालनमा आएपछि लुम्बिनीमा खानेपानीको कुनै पनि समस्या पर्ने छैन।
गुरुयोजनाअन्तर्गत पवित्र उद्यानका ४ वटा गोलाई पोखरी निर्माणको काम सकिएको छ। ४२ वटा प्लट निर्माण गरी केहीमा बगैंचा निर्माणको काम सकिएको छ भने केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिस्टमको काम पनि सकिएको छ। लुम्बिनीमा क्यानल तथा पोखरी निर्माणको काम सकिएको छ। सौन्दर्यकरणको काम तीव्र रुपमा भईरहेको छ। ३ जोडी सिम्बोलिक पेभिलियन, केन्द्रीय नहरको दुवैतर्फ दुवो सहितको बगैंचा निर्माणको काम पनि सकिएको छ। सांस्कृतिक क्षेत्रमा संग्रहालय तथा पुस्तकालयका भवन २ वटा, कार्यालय भवन र सूचना केन्द्र भवनको निर्माण पनि सकिएको छ। यी संरचना पनि ठूलो आयोजनाको रुपमा लिईएको छ। विभिन्न पहुँच मार्गहरू कालोपत्रे तथा ट्रयाक खोल्ने कार्य सकिएको छ भने पुर्वी र पश्चिमी बिहार क्षेत्र, होटललगायतका निर्माण कार्य सम्पन्न भएको कोषका सदस्य सचिव भट्टराईले जानकारी दिए।
प्राथमिकतामा पवित्र उद्यान क्षेत्र
गुरुयोजनामा सबैभन्दा प्राथमिकता पाएको पवित्र उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीले घेरिएको छ। यो पोखरीलाई सर्कुलर लेबी भनिएको छ। वरिपरि निलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना गरिएको छ। गोलाकार पोखरीभित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पूरातात्विक महत्वका भग्नावशेष, प्राचीन लुम्बिनीग्रामका अवशेषमात्र छन्।
यहाँ कुनै पनि नयांँ निर्माणका काम गर्न रोक लगाईएको छ। उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्न बाट रोक्नका लागि गोलाकार नहरहरू बनाईएको छ। पवित्र क्षेत्रलाई विश्व आरक्षण समाजको १ देखि ६ डिसेम्बर १९९७ को सभाले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो। यहाँ रहेका ४१ वटा उद्यानका प्लटमध्ये ३ वटा प्लटमात्र तयार भएका छन्। बाँकी सबै प्लटलाई यसै वर्षदेखि सौन्दर्यीकरण गर्ने योजना छ। पवित्र उद्यान क्षेत्रमा गुरुयोजनाअनुसार निर्माण गर्ने ठूला संरचना करिब सम्पन्न भएका छन्।
उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ। पोखरीलाई अहिलेको तुलनामा दोब्बर बढाएर घाँस तथा झारहरू उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुवो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम सुरु भएको छ। पोखरीका विभिन्न ५ स्थानमा पानीका रंगिन फोहोरा बनाउने योजनासमेत रहेको उपाध्यक्ष भिक्षु मेत्तेयले बताए।
घुम्नलायक आकर्षक बिहार क्षेत्र
पवित्र उद्यान क्षेत्रबाट उत्तरतपर्m रहेको अन्तर्राष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ। यहाँ विभिन्न मुलुकले निर्माण गरेका बौद्ध गुम्बा र विहार छन्। यो दुई क्षेत्रलाई शान्ति दीपबाट सुरु भएको केन्द्रीय नहरले दुई अलग–अलग भागमा छुट्टाएको छ।
यो क्षेत्रमा थेरवादी विहार, महायानी, बज्रयानी विहार, स्तुप तथा ध्यान केन्द्र निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ वटा प्लट छुट्टाईएको छ। त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ।
जसमध्ये पूर्वी विहार क्षेत्रमा थेरवादी बौद्ध सम्प्रदायका १३ वटा मुलुकमध्ये नेपाललगायत ७ वटा मुलुकका आकर्षक विहार निर्माण भइसकेका छन्। पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मुलुकमध्ये २१ वटा मुलुकले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरू बनाइसकेका छन्। तीमध्ये केही निर्माणाधीन छन्। बाँकी मुलुकले निर्माणको काम थालेका छैनन्।
पूर्वतर्फ श्रीलंका, बर्मा, थाइल्याण्ड, कम्वोडिया, क्यानडा, लगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनामलगायतका मुलुकले विहार बनाएका छन्। अमेरिका लगायतका केही मुलुकले विहार बनाउने तयारी गरेको कोषले जनाएको छ।
बौद्धदर्शन, उपदेश र विश्रामको केन्द्र लुम्बिनीग्राम
लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीन वटा क्षेत्रहरू बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने गरी भौतिक एवं वातावरणीय रुपमा संरक्षण गर्ने अभिप्रायले तयार गरिएका छन्। योजनाबद्ध रुपमा विकास भइरहेको तीन वर्ग माईलमध्येको उत्तर तपर्mको एक वर्ग माईल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामाकरण गरिएको छ।
गृहस्थ जीवनमा आवश्यक पर्ने सबै प्राविधिक परियोजना समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनीग्राम भनेर बुहत गुरुयोजनामा समावेश गरिएको छ। तीर्थयात्री तथा पर्यटकलाई आवश्यक भौतिक सुविधा पु¥याउने संरचना यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ।
नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचना बनेर सञ्चालनमा आइसकेका छन् यद्यपि थुप्रै महत्वपूर्ण संरचना बन्न बाँकी छन्। गुरुयोजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो।
एक सय बेडको सबै सुविधायुक्त विलासी होटल, एक सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, दुई सय बेडको साधारण आवासगृह र चार वटा क्याम्पिङ निर्माण गर्ने योजना बनाएको थियो। जसमध्ये तीन स्तरका होटल सञ्चालनमा छन् भने क्याम्पिङ् निर्माणको काम बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।