काठमाडौं- नेपालले साग पुरूष फुटबलको फाइनलमा भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको छ। अभिषेक रिजाल र सुनील बलको गोलमा नेपाल विजयी भएको हो। भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले १ गोल गरे।
पहिलोपटक साग फुटबलमा फाइनल पुगेर इतिहास बनाएको भुटानले लिग चरणमा पनि नेपालबाहेक सबैलाई हराएको थियो।
भुटानसँगको फाइनल खेलमा पहिलो हाफमा १–१ गोलको बराबरी भएको थियो। १६ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै दिलाएको अग्रता ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले गोल गर्दै बराबरी गरे।
त्यसअघि नेपालले १० औं मिनेटको एक अवसर खेर फालेको थियो। १६ औं मिनेटमा नै घाइते रहेका नेपालका कप्तान सुजलको स्थानमा राजेश परियारलाई मैदान छिराइएको थियो।
खेलको ४२ औं मिनेटमा पनि भुटानका कप्तान चेन्चोको प्रहार नेपालका किपर विकेश कुथुले बचाएका थिए।
दोस्रो हाफमा सुनील बलको गोलमार्फत् नेपालले अग्रता लिएको थियो। उनले ५३ औं मिनेटमा गोल गर्नुअघि पनि दुवै टिमका केही गोलका अवसर खेर गएको थियो। ५८ औं मिनेटमा नेपालका राजेशले फ्री पोस्टमा गोलको अवसर खेर फाले। लगत्तै घाइते भएका उनको स्थानमा राजिव लोप्चनलाई छिराइएको थियो।
दोस्रो हाफमा त्यसपछि पनि गोलका केही अवसर खेर जाँदा खेल २–१ मा नै सकिएको हो। साग पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स सहभागी थिए।
नेपाल लिगको अन्तिम खेलमा बंगलादेशलाई १– ० ले हराउँदै फाइनलमा पुगेको थियो। लिग चरणमा भुटानलाई ४–० ले हराएको नेपालले माल्दिभ्सलाई २–१ ले हराएको थियो भने श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो।
यसअघि नेपालसँग ४–० ले पराजित भुटानले लिगका बाँकी तीनै खेल जितेको थियो। अन्तिम खेलमा शनिबार श्रीलंकालाई ३–० ले हराएको भुटानले त्यसअघि बंगलादेश र माल्दिभ्सलाई पनि जित्दै ९ अंकसहित पहिलोपटक साग फुटबलको फाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।