भैरहवा– युवा व्यवसायी हरिष सेठियालाई लक्षित गरी गोली प्रहार भएको घटनालाई लिएर सिद्धार्थ उद्योग वाणिज्य संघले मंगलबार भैरहवा बजार बन्द गराएको छ।
संघले कार्यालय परिसरमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै व्यवसायी तथा संघका सदस्य सेठियालाई ज्यान मार्ने उद्देश्यका साथ भएको गोली प्रहारको विरोधमा भैरहवा बजार बन्द गराएको उल्लेख गरेको छ। उद्योगी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति र गोली हान्ने व्यक्तिलाई कारबाहीको माग गर्दै बजार बन्द गराएको संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिए।
उनले व्यवसायीलाई लक्षित गरी पटक–पटक गोली प्रहार हुने गरेको उल्लेख गर्दै यस्ता घटनाबाट उद्योगी व्यवसायीको मनोवल घट्दै गएको बताए। संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। व्यवसायीले बजार परिक्रमा गर्दै बजार तथा पसल बन्द गराउँदै हिँडेका थिए।
व्यवसायी सेठियामाथि सोमबार राति पौने ९ बजेतिर पसल बन्द गरेर घर जाँदै गर्दा भैरहवा हाटबजार स्थित सेवा पथमा गोली प्रहार भएको थियो। भारतीय मोटरसाइकलमा आएका दुई जनाले उनलाई लक्षित गरी गोली प्रहार गरेका थिए।
सेठियालाई लक्षित गरी गोली हान्ने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीले घटनामा सम्लग्न भारत महाराजगन्ज कोतवालीका ४६ वर्षीय रामजान मुसलमानलाई पक्राउ गरी अनुसन्धान थालिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाए।
प्रहरीले उनले चलाएको यूपी५६इ ४१४९ नम्बर प्लेटको मोटरसाइकल, घरेलु बनावटको नल कटुवा पेस्तोल एक थान, सोमा लोड भई फायर भएको अवस्थामा रहेको केएफबिएमएम खोका एक थान, पेस्तोलमा फिट हुने गोली एक थान, सामसुङ कम्पनीको नेपाली नम्बरको सिमसहितको मोबाइल एक थान लगायतका सामग्री बरामद गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।