काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले प्रायजसो ठूला र व्यवसायिक देखिने भवनहरुमा आफ्ना कार्यालय राखेका हुन्छन्।
उनीहरुको व्यवसायिकता र सुरक्षाका दृष्टिकोणले यस्ता भवनमा कार्यालय राखेका होलान भन्ने आम मानिसको अनुमान हुन्छ। तर, अर्थमन्त्री डा. युवराज खतिवडाले भने त्यसरी ठूला–ठूला भवनमा कार्यालय राख्नुको पछाडिको फरक मनोविज्ञानबारे आफ्नो बुझाई अभिव्यक्त गरेका छन्। उनले बैंकहरुले आफ्नो निक्षेप बढाउन र आम मानिसको बैंकप्रतिको विश्वास जगाउने मनोविज्ञानका कारण यसरी ठूला भवनमा कार्यालय राख्ने गरेको बारे खुलाएका छन्।
शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक लिमिटेड मर्जरपछि संयुक्त कारोबार सुरु गर्न बैंकको कमलादीस्थित कार्यालयमा औपचारिक कार्यक्रम राखिएको थियो। कार्यक्रमको प्रमुख अतिथि थिए अर्थमन्त्री खतिवडा। कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा खतिवडाले सुरुमै यस्तो मनोविज्ञानबारे चर्चा गरे।
खतिवडाले बैंकको कार्यालय किन ठूला भवनमा राखिन्छन् भन्ने विषयमा बोलेको विवरण जस्ताको त्यस्तैः
बैंकहरु पहिले-पहिले धेरै अग्ला-अग्ला भवन बनाउँथे रे। मैले इन्टरनेटमा हेर्दै थिए किन ठूला-ठूला भवन बनाएर किन ठूलो हुन खोजेको भनेर। विश्वभरी नै यस्तो प्रवृति रहेछ। एचएसबिसी बैंक, सिटी बैंक, हङकङ सांघाई आदि ईत्यादि बैंकका अग्ला-अग्ला, ठूला-ठूला भवन देखिन्छिन्। आफ्नो ब्यालेन्स सीटअनुसारको भवन बनाएको होला भन्थे मैले।
ग्लोबल आइएमईको घर त हेर्न पाएको छैन। ब्यालेन्स सीट त ठूलो भयो। ठूलो भवन किन चाँहिदो रहेछ? भनेर पनि मैले मनोबैज्ञानिक रुपमा बुझ्न खोजेको थिए। बैंकको भवन ठूलो भयो भने निक्षेपकर्तालाई एउटा विश्वास हुँदो रहेछ। यत्रो अग्लो भवन छ। यति धेरै सम्पत्ति छ। यसको संचालकहरु त हाम्रो पैसा लिएर भाग्दैनन होला। निक्षेपकर्ताको विश्वासको एउटा आधार ठूलो भवन पनि रहेछ। तर, मैले भन्छु निक्षेपकर्ताको ठूलो विश्वास कमाउने आधार ठूलो कारोबार पनि हुनपर्छ। मेरो तपाईहरुलाई शुभकामना छ।
ठूलो हुँदैमा विश्वास जितिहालिन्छ भन्ने कुरा होइन तर त्यसले एउटा आधार चाँहि सिर्जना गर्छ। यसैपनि अब तीन हजारभन्दा बढी संस्थापक सदस्य, लाखौंको संख्यामा सेयरधनीहरु र यति ठूलो पूँजी भएको बैंक विश्वास त बढाउने नै भयो। त्यो विश्वासको आधारबाट तपाईंहरुले अझ बढी स्राेत परिचालन गरेर ठूलो लगानी गर्नसक्ने क्षमता विकास गर्नुहोस्। यस अवसरमा म तपाइलाईं शुभकामना दिन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।