सुर्खेत- पञ्चपुरी नगरपालिकाको जामुघाट भेरी नदीमा निर्माणाधीन पुललाई पश्चिम सुर्खेतको समृद्धिका रुपमा हेरिएको छ।
हजारौँ जनताको रोजीरोटी खोस्ने र सयौँलाई घरबारविहीन बनाउने भेरी नदीमाथि २०७२ जेठबाट पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। पुल निर्माणको जिम्मा अनक–लुम्बिनी–हिङ्दुङ् जेभीले लिएको छ। रु ३६ करोड लगानीमा बन्न लागेको पुलको ७५ प्रतिशत काम पूरा भएको साइट इञ्चार्ज दिनेश श्रेष्ठले जानकारी दिए। ४ वर्ष निर्माण अवधि तोकिएको पुलको लम्बाइ ३५१ मिटर रहेको छ।
पुल निर्माण भइरहेकाले हालसम्म त्यस क्षेत्रका नागरिकले तुइन र काठको डुंगाबाट आवातजावत गरिरहेका छन्। 'सधैँ कहालीलाग्दो यात्राबाट भेरी नदी पार गरिरहेका छौँ, अब भने केही महिनापछि निर्माणाधीन पुलबाटै आवतजावत गर्ने खुसी सँगालेर बसेका छौँ,' पञ्चपुरी नगरपालिका–५ तिखाकुना गाउँका स्थानीयवासी विनोद देवकाटाले भने।
बर्सेनि पञ्चपुरी नगरपालिका–१० को गल्फगाउँ र ५ को तिखाकुना गाउँको दुःख बन्दै आएको भेरी नदीले आफ्ना आसापासका बस्तीलाई बगरमा परिणत गर्ने गरेको सो नगरपालिकाका स्थानीय समाजसेवी खड्ग बाँसपानीले जानकारी दिए। 'पुल बनेपछि गल्फ र तिखाकुना गाउँलाई मात्र जोड्ने छैन, यो उत्तरमा अछामको तुर्माखाँद हुँदै कर्णाली राजमार्ग जोड्ने हाई फास्टट्र्याक बन्नेछ,' उनले भने।
निर्माणाधीन पुलले उत्तरका साथै दक्षिणमा महेन्द्र राजमार्गसँग जोड्न पनि सघाउ पुर्याउने भएकाले पुल निर्माणबाट पश्चिम सुर्खेतको समृद्धिको ढोका खोल्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।