विराटनगर- पूर्वमा चट्याङले लागेर मृत्यु हुनेको संख्या थपिँदै गएको छ। आइतबार मात्रै चट्याङ लागेर धनकुटा र मोरङमा दुई जनाको ज्यान गएको छ। महालक्ष्मी नगरपालिका ९ का ५५ वर्षीय खम्बसिंह तामाङ्गलाई आइतबार साँझ चट्याङ लागेको थियो। उनको केही समयपश्चात् मृत्यु भएको प्रहरी चौकी सिंघुवाले जनाएको छ।
यस्तै मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गएराति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो। घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।
चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र छिमेकी ६२ वर्षीय धनबहादुर राई गम्भीर घाइते भएका छन्। दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
यसअघि फागुन २५ गते ताप्लेजुङ र सोलुखुम्बुमा चट्याङकै कारण २ जनाले ज्यान गुमाएका थिए। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ का ३२ वर्षिया दावाफुट्टी शेर्पा र सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल की ५६ वर्षीया रिजामली राईको चट्याङ लागेर मृत्यु भएको थियो।
घटनामा ताप्लेजुङको रिजंगा गाउँपालिका ४ का ३१ वर्षीया पमला लिम्बु, ९ वर्षीय युजल लिम्बु र फुङलिङ नगरपालिका ७ का ३१ वर्षीया कुसुम थुलुङ, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलका २५ वर्षीया शान्ति राई, र प्रितु बहादुर कार्की का १४ वर्षका छोरा छितिज कार्की तथा संखुवासभाको चैनपुर नगरपालिका १ सुकेबजारका २६ वर्षीय छिरीङ दोर्जे भोटे घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।