भक्तपुर- प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाल र माफियाको कब्जामा रहेको बताएका छन्।
आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा मुख्यमन्त्री पौडेलले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पुर्याएको टिप्पणी गरे।
'सरकारी कार्यालयमा संस्थागतरुपमै भ्रष्टाचार भइरहेको छ, पैसा नखुवाई काम गर्नसक्ने अवस्था नै छैन, जहाँ गयो त्यहीँ भ्रष्टाचार हुन्छ', मुख्यमन्त्री पौडेलले भने, 'सारा माफियाको सञ्जाल फैलिएको छ, जहाँ गए पनि दलाललाई नसमाती काम गर्न सकिँदैन, सबै कार्यालय दलालहरूले कब्जा गरेका छन्।'
सबैले प्रतिबद्ध भएर लागे देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिने बताउँदै मुख्यमन्त्री पौडेलले भने, 'अबका दिनमा यो मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ, अब हामी वचन दिन्छौं, भ्रष्टाचारबाट देशलाई मुक्त गर्छौं।'
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आजदेखि नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा भएको बताउँदै नगरपालिकाले स्वास्थ्यको सबै जिम्मेवारी पूरा गर्ने बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।