नुवाकोट– छुट्टाछुट्टै दुर्घटनामा नुवाकोटमा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
त्रिशूलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ७९८ नम्बरको बसको ठक्करबाट बट्टारमा पैदलयात्री विदुर नपा–३ फिर्केपका ७६ वर्षीय ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको छ।
यस्तै, आइतबार नै बेलकोटगढी नगरपालिका–७ कल्चडीस्थित गल्छी त्रिशूली सडकखण्डमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको बा३ख ६६६७ नम्बरको टिप्परले गल्छी त्रिशूली सडकखण्डको कल्चेडीमा बा७०प ४४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–९ कोलोनीका तिलकबहादुर मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उता, त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा१ख ६५१९ नम्बरको बस विदुर नगरपालिका ५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दिउँसो २ः३० बजेतिर ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ।
- शालिकराम चालिसे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।