काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै विश्वासको मत हाल्न सम्पूर्ण राजनीतिक दलमा अपिल गरेका छन्।
आइतबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा मत माग्दै नेता नेपालले समाजको परिवर्तन नेतृत्वको संकल्पबाट देखिने बताउँदै प्रधानमन्त्री ओलीको अभिव्यक्तिले जनतामा आशा जगाएको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कुराभन्दा काम गरेर देखाउने बेला आएको बताउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा देश विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे।
‘ओलीजीको विचार र अभिव्यक्ति हामीले सुनेका छौं’, नेपालले भने, ‘वाम गठबन्धनको संकल्प हामीले सुनेका छौं। यसले एउटा विश्वास जगाएको छ, अब देशले फड्को मार्ने देखिन्छ।’
नेता नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गर्दै नयाँ राजनीतिक संस्कार बसाल्न प्रतिपक्ष दलहरुलाई आग्रह गरे। सुशासन, विकास र समृद्धिको यात्रामा हातेमालो गर्न प्रतिपक्ष दललाई नेता नेपालको आग्रह थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।