काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली ३:४५ बजे डिस्चार्ज भएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालका डा रमेशसिंह भण्डारीको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि प्रधानमन्त्रीलाई आइसियुमा राखिएको थियो।
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उनले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको बताइएको छ।
ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन्। भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो।
प्रधानमन्त्रीको यसै अवधिमा ८ पटक डायलाइसिस पनि भएको छ। प्रधानमन्त्री ओलीको १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।