इटहरी- विश्वमा जलवायु परिवर्तनले शंकट उत्पन्न गरेको र त्यसको ठूलो असर नेपालको हिमालय क्षेत्रमा परिरहेको भन्दै इटहरीमा १२ घण्टे मौन व्रत सुरु गरिएको छ।
बिहीबार बिहान ६ बजेदेखि सुरु भएको मौन व्रत साँझ ६ बजेसम्म जारी हुने बताइएको छ। १० वर्षअघि नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दा बोकेर गरेको कालापत्थर बैठकका एजेन्डा सम्झाउनको लागि पनि मौन व्रत बसिएको कार्यक्रम संयोजक सुरेश कार्कीले बताए।
उनका अनुसार आजै विश्व स्वयम्सेवी दिवस परेकाले विश्वमै खतराको रुपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सबैको ध्यान दिन मौन सन्देश प्रवाह गर्न खोजिएको हो।
‘१२ घन्टे मौन सन्देश विश्वलाई’ नाम दिएको कार्यक्रममा पूर्व मन्त्रीहरू रामकुमार सुब्बा र मन्त्री रामकुमारी चौधरी, सगरमाथा आरोही मदन चुँडाल र शिव डाँगी समेत सहभागी छन्।
इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा जारी मौन व्रतमा मौन सन्देश भएकाले गफगाफ तथा खानपिन नगरी १२ घन्टासम्म मौन रहने आयोजकले बताएको छ।
२०६६ मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले कालापत्थरमा मन्त्रिपरिषद् बैठक बसाएका थिए। एक दशअघि भएको मन्त्रिपरिषद् बैठकहरूले जलवालयु परिवर्तनले नेपाल जस्तो हिमालयन देशमा संकट आएको भन्दै विश्व समुदायको ध्यान खिचेको थियो।
विश्वको सबैभन्दा अग्लो स्थानमा मन्त्रिपरिषद् बैठक गरेर नेपालले २०६६ मंसिर २२ देखि पुष ३ सम्म डेनमार्कको राजधानी कोपनहेगनमा हुने विश्व जलवायु सम्मेलनको तयारी स्वरुप बैठक बसेका थिए।
सोही बैठकलका मुद्दाहरू सम्झाउन मौन व्रत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम सचिव सुनिल कार्कीका अनुसार दश वर्षअघि आजकै दिन कालापत्थर बैठकबाट जलवायु परिवर्तन र यसका असरले नेपाललाई पारेको समस्या विश्वलाई चिनाउने प्रयास भएकोले त्यसलाई सम्झाउन खोजिएको हो।
तत्कालीन अवस्थामा मन्त्रीपरिषदको बैठकले १० बुँदे ‘जलवायु परिवर्तन बारेमा सगरमाथा घोषणापत्र’ जारि गरेको थियो। घोषणापत्रमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबार विश्व समुदायको ध्यान खिच्न दक्षिण एसियाली लगायत विश्वका विभिन्न मुलुकसँगै काम गर्ने कुरालाई प्राथमिकता दिइएको थियो।
त्यस्तै हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर र असर कम गर्ने विषयमा स्थानीय तथा रास्ट्रिय स्तरमा आम सचेतनाका अभियान सञ्चालन गर्ने कुरामा बैठकले जोड दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।