काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था अनुसार ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।
प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् ।
हालसम्म नेपाली कांग्रेस मात्र प्रधानमन्त्री ओलीको विपक्षमा रहेको देखिएको छ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसहित केही स्वतन्त्र सांसद भने बीचमै रहेका छन्। नयाँ सरकारमा जाने तयारीमा रहेको फोरमले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गर्ने विषयमा आधिकारिक निर्णय गरिसकेका छैन।
तर, प्रधानमन्त्री ओली नेपाली कांग्रेस बाहेकका अन्य दलको समर्थन जुटाउने प्रयासमा छन्। हाल प्रतिनिधिसभामा ५ राष्ट्रिय दल छन् भने ५ जना स्वतन्त्र सांसद छन्। एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मात्र निर्वाचनमा आवश्यक थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टीको मान्यता पाएका थिए। राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल र मोहन विक्रम सिंहको पार्टीको स्वतन्त्र हैसियतमा सांसदमा प्रतिनिधित्व छ। यस्तै हुम्लाका छक्कबहादुर लामा स्वतन्त्र सांसद छन्।
प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये दुई तिहाई समर्थन जुटाउन १ सय ८२ सांसद भए पुग्छ। राजपा र संघीय समाजवादीले समेत समर्थन गरेमा ओलीको पक्षमा २ सय ९ मत पुग्नेछ। राजपा र फोरम सरकारमै सामेल हुनेगरी वार्तामा छन्। राजपाले ओलीलाई समर्थन गर्ने औपचारिक निर्णय नै गरिसकेको छ। औपचारिक निर्णय नगरिसकेको फोरमलाई नगन्ने हो भने पनि अहिलेसम्म समर्गन गर्ने निर्णय गरिसकेका दलबाटै मत आएमा प्रधानमन्त्री ओलीलाई दुई तिहाई पुग्ने देखिन्छ।
यस्तो छ समीकरण
प्रधानमन्त्रीको पक्षमा
एमाले १२१
माओवादी केन्द्र ५३
राजपा १७
स्वतन्त्र ३ (राजमो १, राप्रपा १, छक्कबहादुर लामा १)
विपक्षमा
कांग्रेस ६३
अनिर्णीत
संघीय समाजवादी फोरम १६
नयाँ शक्ति १,
नेमकिपा १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।