बुटवल– पाँच नम्बर प्रदेशको प्रदेशसभा सञ्चालनका लागि चार संसदीय सदस्य बनाउने प्रस्ताव गरिएको छ। शनिबार बसेको मस्यौदा निर्माण समितिको बैठकले उक्त प्रस्ताव गरेको हो।
प्रदेशसभा सञ्चालनका लागि नियमावली मस्यौदा तयार भएको छ। मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालका अनुसार सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन, विधायन तथा आन्तरिक मामिला र सामाजिक विकास समिति बनाउने निर्णय भएको छ।
मस्यौदा समितिले सांसदको पोशाक समेत निर्धारण गरेको छ। पुरुष सांसदले कोट र टोपी तथा महिला सांसदले सारी र कोट लगाउनुपर्ने प्रावधान राखिएको जनाएको छ। कोट र सारीको रङ निर्धारण गर्ने जिम्मेवारी भने सभामुख र कार्यव्यवस्था समितिलाई दिइएको छ।
संसद् बैठकको गणपुरक संख्या एक चौथाइ राखिएको छ। २१ जना सांसद उपस्थित भए बैठक सञ्चालन हुनेछ। मस्यौदा आइतबार बस्ने बैठकमा पेश गरिने बताइएको छ।
फागुन ६ गते बसेको संसद् बैठकले एमालेका सांसद रिजालको अध्यक्षतामा समिति गठन गरेको थियो। १५ दिनको म्याद पाएको समितिले २० दिनपछि मात्रै मस्यौदा बुझाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।