त्यो निष्पट्ट अन्धकारको पहिलो प्रहर
हाम्रो ओछ्यानमा
आकाश र धर्तीले भर्खरै निश्वास श्वास बिसाएको थियो ।
त्यही बेला खट्खटायो कसैले ढोका
पहिला कहिल्यै नसुनेको एउटा स्वरले बोलायो तिम्रो नाम
र मुर्झायो एउटा फक्रिन लागेको फूल ।
खस्यो एउटा तारा ।
सुस्तरी समाउँदै मेरो हात
भन्यौ तिमीले – 'तिमी सुत्दै गर्नू, म एक्कैछिन बाहिर गएर आइहाल्छु ।'
त्यो तिम्रो छटपटी
त्यो पीडा
त्यो आहट
मैले विस्तारै कसिलो समाएकी तिमीलाई
तिमीले उसैगरी मेरो हातको चङ्गुलबाट
मायाले फुत्काएको आफ्नो हात
बिछ्यौनाभरि म लुटपुटिएको तिम्रो बासना
र मेरो हातमा बाँकी बसेको त्यो न्यानोपन
अहो ! यो सब म कसरी पो बिर्सन सक्छु ?
त्यो कालो औंसीको रात ।
भो ती पुराना दिनको कुरा नगर
सम्झनाका कुरा नगर ।
नसोध,
झुक्किए कैयौं पटक चिया पकाउँदा
बेसुरमै पस्किएँ खाना तिमीलाई पनि
फुटेँ धेरैपटक मिलाइरहँदा दराजमा तिम्रा कपडा
तिम्रो लामो आयुको कामना गर्दै व्रत बसेँ हरेक तीजमा
हरेक हप्ता तिम्रो ठेगाना खोज्न सदरमुकामसम्म धाएँ
'नाठो खेलाउन गएकी !' - खपेँ गाउँलेका अनेकौं लाञ्छना ।
भो ती पुराना दिनको कुरा नगर
सम्झनाका कुरा नगर ।
कहिलेकाहीँ त यस्तो लाग्थ्यो
यो परिवारमा तिमी बाहेक अर्को कोही छैन मेरो
आखिर सुन्थ्यो नै कसले र मलाई ?
जसरी सहिदिन्थेँ म
तिमीलाई मैले खाएको आरोप
म आएपछि सुरु भएका भनिएका यो घरका दुर्दशा…
अर्को को थियो र मसँगै सहिदिने ?
भो ती पुराना दिनको कुरा नगर
सम्झनाका कुरा नगर ।
झस्कनु पनि कतिसम्म...
ढोका बाहिरबाट कुनै पुरुष आवाजले मेरो नाम बोलाउँदा
डिलमुनिबाट गाँउतिर आउँदै गरेको यात्रुबस देख्दा
तिम्रो जस्तै कपडा लगाएको अर्को कोही मानिस देख्दा
गाउँमै कसैको विवाह–उत्सवमा जाँदा
वर्षगाँठको हरेक दिन दियोभरि तेल थपिरहँदा
झस्कनु पनि कतिसम्म ?
तिमीले कतै त मेरो नामले मलाई बोलायौ होला
यो भित्तो साक्षी छ– मेरो अनिदो रातको ।
तिमी र म एउटै झरीमा रुझ्यौं कि रुझेनौं ?
यो सिरानी साक्षी छ– म हरेक रात रित्तिएको ।
तिमीले फेरेको सास सुस्तरी मलाई काउकुती लगाउन किन आउँदैन ?
यो सिंगो कोठा साक्षी छ– म हरेक पटक निस्सासिएको ।
छोरी जन्मेकै साल
तिमीले रोपेको गुलमोहरको बोट साक्षी छ – मेरो एकान्तपनको ।
अभाव त तिमीले पनि भोग्यौ होला – मेरो स्पर्शको ।
र साक्षी छ – तिमीले सुन्दर देख्नेगरेकी मलाई
तिमी गएदेखि नै कुरुप देखाउने यो ऐना ।
भो अभावका कुरा नगर
तिमी बाहेक अर्को सम्पति नै पो के छ र मेरो ?
नगर मेरो बैंसको कुरा
तिमीलाई कुर्दाकुर्दा मुर्झाएको यौवनको फूल
अब त कहिल्यै नफुल्नेगरी ओइलाइसकेको छ ।


अचम्म त त्यसबेला लाग्छ-
जब कोल्टे फेरेरै पनि त बिहान हुँदो रहेछ ।
मुठी कसेरै मात्र पनि त कट्दो रहेछ प्रहर ।
न आक्रोश आउँछ, न कुनै क्रोध
लाग्छ मूर्दा शान्ति भरिएको छ मभित्र
यो जत्तिको लाचारी अर्को के हुन्छ होला ?
टोलाइरहन्छु
रेडियोले तिम्रो नाम फुक्छ कि समाचारमा, डराइरहन्छु ।
तर सायद रेडियो तिमी भए ठाउँसम्म पुग्नै सकेन
आजकाल त रेडियोमा समाचार लगत्तै गीत बज्छ
'कुरा सुन्छु नानाथरी, गाँठो पर्छ छातीभरि
बह पोख्ने ठाउँ छैन, बसेकी छु बाटो हेरी
लैजा चरी ...'
अब त छोरी पनि ठूली भएकी छे
तिमीले छोडेकी दूधेबालक
बुझ्छे धेरै कुरा
गएको कुशेऔंसीमा लड्डु मलाई दिँदै भनी
मेरो आमा पनि तपाईं, मेरो बाबा पनि तपाईं ।
यसपटक पहिला ऊ भक्कानिई, अनि मात्र मेरो आँखाको बरफ पग्लियो ।
त्यो लड्डु अब त कमिलाले खायो होला ।
तिमी गएको त्यो कालो औंसीको रात थियो
सायद मेरो पूर्ण चन्द्रमा उदाउन अझै बाँकी छ ।
झाङ्गिएको छ त्यो गुलमोहरको बोट
बस् यतै कतै तिमी छैनौ र म छैन ।
(अगस्ट ३०, विश्व बेपत्ता विरुद्धको दिवसको सन्दर्भमा)
ट्विटर: @canvassss
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।