सुर्खेत– कर्णाली प्रदेश सरकारले आउँदो वर्ष २०७५ लाई रारा कर्णाली पर्यटन वर्ष मनाउने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन वर्षको २०७५ बैशाख १ गते उद्घाटन गर्ने निर्णय गरेको छ।
उक्त अभियान सफल पार्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मूल समिति गठन गर्ने निर्णय पनि भएको छ। यस्तै, मन्त्रीहरु सम्मिलित छुट्टाछुट्टै समितिहरु पनि गठन गरिने जनाइएको छ। कर्णाली प्रदेशको पर्यटन विकासका लागि रारा कर्णाली पर्यटन वर्ष मनाउन लागिएको सरकारले जनाएको छ।
यस्तै, शनिबारको बैठकले विभिन्न दस निर्णय गरेको छ। सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली संशोधन गर्ने, प्रदेश सरकार कार्यसम्पादन नियमावली संशोधन गर्ने, प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ संशोधन गर्ने, मन्त्रीहरुको आचारसंहिता २०७४ को छलफलमा उठेका विषयलाई समावेश गरी पारित गर्ने लगायतका निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।
प्रदेश मन्त्रिपरिषद् सञ्चालन कार्यविधि कायान्वयन गर्न मन्त्रीहरुको संयोजकत्वमा तीन वटा समिति गठन गरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा राजनीतिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रशासन तथा विधेयक समिति गठन गरिएको छ। जसमा सामाजिक विकास मन्त्री दलबहादुर रावल र वन, वातावरणमन्त्री नन्दसिंह बुढा सदस्य छन्। यस्तै, सामाजिक विकास मन्त्री रावलको संयोजकत्वमा आर्थिक सामाजिक पूर्वाधार समिति गठन गरिएको छ, सदस्यहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भौतिक पूर्वाधारमन्त्री खड्ग खत्री छन्।
कर्णाली प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ लाई प्रदेशसभामा पेश गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।
कर्णाली प्रदेशको विकास गर्न काठमाडौंमा अन्तरक्रिया गर्ने निर्णय पनि भएको उनले जनाइन्। विपन्न प्रदेशका रुपमा रहेको कर्णाली प्रदेशको विकास गर्न काठमाडौंमा विज्ञहरुसँग अन्तरक्रिया गर्नेसहित १० वटा निर्णय भएको मन्त्री केसीले बताइन्। उनका अनुसार, अन्तरक्रिया कार्यक्रम व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
कर्णाली प्रदेशका सम्भावना, चुनौती र समाधानका लागि काठमाडौंमा विज्ञहरुसँग गरिने अन्तरक्रियाबाट आएका सुझावका आधारमा प्रदेश सरकारले नीति–नियम बनाएर अगाडि बढ्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।