काठमाडौ- सर्वोच्च अदालतले ३८ सय किलो सुन तस्करी प्रकरणमा काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा लगाएको शिलबन्दी हटाएर पसल सञ्चालन गर्न दिने परमादेश जारी गरेको छ। गृह मन्त्रालयकको गठन विशेष अनुसन्धान समितिले उक्त पसलमा शिलबन्दी गरेको थियो।
समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले विसं २०७५ जेठ २८ गते उक्त ज्वेलर्समा छापा मारेर शिलबन्दी गरेको थियो। तस्करी गरेको सुन बिक्री गरेको भन्दै ३८ सय किलो सुन तस्करी प्रकरणमा विसं २०७४ चैत ३० गते ज्वेलर्सका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो।
प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि शाक्यको संलग्नता खुलेको थियो। अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो। त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजात बरामद भएका थिए।
उनीविरुद्ध मोरङ जिल्ला अदालतमा सुन तस्करी मुद्दा दायर भएको थियो। जिल्ला अदालतले सबै प्रतिवादीलाई थुनामा पठाएपछि उनी उच्च हुदै सर्वाेच्च अदालत आएका थिए।
उनले सुन तस्करी मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको तर आफ्नो व्यवसायमाथि नै रोक लगाउनु गैरसंवैधानिक भएको दाबी गर्दै विसं २०७५ साउन ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा अन्तिम फैसला सुनाउँदै न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले यस्तो फैसला सुनाएको हो।
जफत सुन तत्काल नपाउने
सर्वोच्चले पसलबाट जफत गरिएको सुन भने तत्काल फिर्ता नहुने फैसला सुनाएको छ। मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधीन रहेकाले अहिले नै उक्त सुन दिनू भनेर आदेश गर्न नमिल्ने सर्वोच्चको फैसलामा उल्लेख छ।
सर्वोच्चले व्यवसाय गर्न नदिई अनिश्चित तरिकाले अनन्तकालसम्म पसल बन्द राखिँदा ऋणमा रहेको पसल व्यवसायमा आर्थिक भार पर्ने सर्वोच्चको फैसलामा उल्लेख छ। नेपालको संविधानले दिएको पेशा‚ रोजगार गर्ने र बाच्न पाउने हकको उल्लंघन हुनुका साथै उक्त पसलमा आश्रितहरुको रोजगारमा समेत प्रतिकुल असर पर्ने सर्वोच्चको फैसलामा उल्लेख छ।
रिट निवेदकहरुमा गम्भीर अन्याय पर्न सक्ने अवस्था तथा सुविधा र सन्तुलनको दृष्टिबाट विसं २०७५ जेठ २८ गते लागेको शिलबन्दी खोली पसल सञ्चालन गर्न सर्वोच्चले भनेको छ। सर्वाेच्चले फैसलाको पुर्णपाठ पछि तयार हुने भएकाले अहिलेको संक्षित फैसला न्यायाधीश राजेन्द्रकुमार शाक्यले दिने तयारी गरेको छ।
सनम शाक्यको समेत सुन तस्करीकै क्रममा मृत्यु भएपछि प्रहरीले गोरे भन्ने चुडामणी उप्रेतीसहित उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा पनि थपिएको थियो। जिल्ला अदालत मोरङले विसं २०७५ जेठ ८ गते गोरेबाहेक ३२ आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित ३२ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरुविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी-पैठारी र निकासी गरेको, अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।
सुन तस्करी मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी रहेका छन्।
मिलेमतोमा सुन तस्करी गर्ने गोरे समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको थियो। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।