काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'को तेस्रो मस्यौदा तयार पारेको छ।
सो मस्यौदामाथि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बुधबारबाट दफाबार छलफल सुरु गरेको हो। छलफलबाट समितिले प्रस्तावनादेखि दफा ५ सम्म सुधारसहित पारित गरेको छ। छलफलमा सांसदहरुले निजी क्षेत्रलाई इजाजत नदिन विशेष जोड दिएका छन्। साथै उनीहरुले पारिमाणविक पदार्थसँग सम्बन्धित विषयलाई पनि विधेयकबाट हटाइरहेका छन्।
पारमाणविक भट्टी निजी क्षेत्रलाई पनि सञ्चालन र निकासी पैठारीको अनुमति दिने आशयको विधेयक संसदमा दर्ता भएपछि सरोकारवालाहरुले विरोध गर्दै आएका थिए। सांसदहरुको समेत विरोध रहेपछि मन्त्रालयले गत भदौ ३० मै समितिमा पेश गरेको पहिलो परिमार्जन मस्यौदाबाट विधेयकका अधिकांश स्थानका पारमाणविक शब्द हटाएको थियो। उसले विधेयकलाई पनि सांसदहरुको माग अनुसार 'रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' नामाकरण गर्दै सो अनुसारको परिमार्जन गरेको थियो।
सो परिमार्जनमाथि सांसदहरुले पुनः धारणा राखेपछि सोही अनुसार मन्त्रालयले दोस्रो पटक संशोधन गरेको थियो।
बुधबारको छलफलमा मन्त्री गिरिराजमणि पोखरेलका साथै मन्त्रालयका सचिव राजन खनालको समेतको उपस्थिति थियो।
अघिल्लो वर्ष पुस ८ गते संसद सचिवालयमा दर्ता भएको सो विधेयकलाई मन्त्रालयले थप परिमार्जन गरेको हो। (फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।