कञ्चनपुर- पुरैनामा सडकको नालीमा पुरिएर दस वर्षीया अर्मिता सार्कीको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार निर्माणाधीन सडकको ६ फिट गहिरो नालीमा खेल्ने क्रममा माथिबाट माटो खस्दा सार्कीको मृत्यु भएको हो। मृतक सार्कीसँगै खेलिरहेका स्थानीय १२ वर्षीय सनिदेव चौधरी र सुरत चौधरीको स्वास्थ्य अवस्था सामान्य छ।
प्रहरीका अनुसार सार्कीसँगै नालीमा आधा पुरिएको अवस्थामा दुवै बालकलाई देखेपछि तत्काल स्थानीयवासीले उद्धार गरेका थिए।
त्यसैगरी शुक्रबार पुनर्वास नगरपालिका– ५ का ३१ वर्षीया अम्बिका ओझाले आफ्नै तीन महिने छोरी पुष्पा ओझाको सलले बेह्रेर हत्या गरेकी छिन्। छोरीको हत्या गरी आत्महत्या गरिरहेको अवस्थामा आमालाई स्थानीयवासीले उद्धार गरेका थिए।
छोरीको हत्यामा संलग्न आमालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।