बेनी, म्याग्दी- बेनी नगरपालिका– ४ सिंगा तातोपानीका कपडा व्यवसायी १० दिनदेखि बेपत्ता भएका छन्।
गत फागुन १५ गते फेन्सी सामान खरिद गर्न काठमाडौं हिँडेका मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ स्थायी घर भई तातोपानीमा व्यवसाय गर्दै आइरहेका ५० वर्षीय छयोन्तेन गुरूङ बेपत्ता भएका हुन्। घरबाट सामान खरिदका लागि हिँडेकै दिनदेखि नै मोबाइलमा सम्पर्क नभएपछि जिल्लाका विभिन्न स्थानका साथै मुस्ताङ र पोखरामा समेत खोजी कार्य गर्दा नभेटिएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए।
'उहाँको फोन पनि लाग्दैन, धेरै ठाउँमा खोजी कार्य गरियो, अझै भेटिनुभएको छैन,' श्रीमती हिमा लामा गुरूङले भनिन्।
प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काको अनुसार गहुँगोरो, अन्दाजी ५.५ फिट उचाइ, थेप्चो नाक रहेका गुरूङले छाप्रो टोपी र कालो ज्याकेट लगाएका थिए।
यसैबीच तातोपानीका स्थानीयले समेत गुरूङको खोजी कार्य सुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।