राजविराज- सप्तरी सदरमुकाम राजविराज हटियास्थित नौसाद जुत्ता पसलमा भएको आगलागीमा ५० लाखभन्दा बढीको क्षति भएको छ।
राजविराज ७ स्थित नौसाद खातुनको ४ तले घरमा गएराति करिब साढे २ बजे आगो लागेको थियो। आगोले पसल तथा गोदाममा भएको सम्पूर्ण सामान नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको पूर्ण विवरण नआए पनि ५० लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ।
सिरहाको लहान, सुनसरीको इनरुवा र सप्तरीको राजविराज तथा शम्भुनाथ नगरपालिकाका ४ वटा दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा साढे ३ घन्टापछि आगो नियन्त्रणमा लिइएको छ।
आगो नियन्त्रणका क्रममा राजविराज नगरपालिकाका फायर म्यान धर्मेन्द्रकुमार यादव घाइते भएका छन्। झ्यालको सिसाले लागेर उनको टाउको फुटेको छ।
आगालगीको कारण खुलेको छैन। तर, परिवारका सदस्यले भने रिसइबीका आगो लगाइदिएको आरोप लगाएका छन्। घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।
यसैगरी, सोलुखुम्बुको नेचा–सल्यानमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ। वडा नं ५ का प्रकाश राईको घरमा विद्युत तार सर्ट भई आगलागी हुँदा ३ तले घर तथा सम्पूर्ण सामान जलेर करिब ५ लाख १० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।