महिलामा ब्रेस्ट (स्तन)का कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ।
स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ।
क्यान्सर हुने प्रकृतिका ट्युमरले नजिकका तन्तु नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन् । त्यसलाई शल्यक्रिया गरेर हटाए पनि फेरि उत्पन्न हुन सक्छन्।
स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ।
महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो । क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि स्तन क्यान्सर दोस्रो नम्बरमै छ
स्तन क्यान्सरका लक्षण
नदुख्ने गाँठो आएमा,
स्तनको मुन्टाबाट रगत बगेमा,
स्तनको मुन्टा भित्र जान थालेमा,
छालामा निको नहुने घाउ आएमा,
काखीमा गाँठागुँठी आएमा,
स्तनको रङ परिवर्तन हुन थालेमा । आदि ।
स्तन क्यान्सरको परीक्षण
स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ । स्तन क्यान्सर भए÷नभएको नियमित रूपमा आफैँले परीक्षण गर्न सकिन्छ भने चिकित्सकबाट पनि परीक्षण गराउन सकिन्छ । त्यसैगरी, ४० वर्षमाथिका महिलाले वर्षमा एकपटक स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्नुपर्छ जसले गिर्खाभित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउँछ ।
४० वर्षभन्दा कम उमेरका महिलाले स्तन क्यान्सरसँग सम्बन्धित कुनै लक्षण देखिएमा वा शंका लागेमा विभिन्न जाँच गरेर क्यान्सरको पहिचान गर्न सकिन्छ । स्तनको अल्ट्रासाउन्ड, बायोप्सी, सिटिस्क्यान, एमआरआई, पिइटी स्क्यान, छातीको एक्सरे आदि परीक्षण गर्नुपर्छ।
४० वर्षभन्दा माथिका महिलाले क्यान्सरको कुनै लक्षण वा शंका नलागे पनि हरेक वर्ष म्यामोग्राफी गर्नुपर्छ । स्तनको आकार, प्रकार, रङ, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परिवर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
स्तन क्यान्सरका कारण
स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि निम्न कारणहरूलाई जोखिम मानिएको छः
- वंशाणुगत (रगतको नातामध्ये आमा, दिदी, बहिनी, छोरी कसै एकमा भएमा) कारण स्नत क्यान्सर हुन सक्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ ।
- हर्मोनहरुमा गडबडी हुनाले पनि स्तन क्यान्सर हुन सक्छ ।
- नियमित मदिरा सेवन गर्ने महिलामा ।
- परिवार नियोजनका साधान पिल्सहरु प्रयोग गर्ने महिलामा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ।
- जिनमा खराबी आएमा पनि क्यान्सर हुन सक्छ ।
- दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ ।
- महिनावारीको गडबडी छ भने पनि स्तन क्यान्सर हुन सक्छ ।
- बच्चा नभएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ ।
- बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।