काठमाडौँ – पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ।
पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सल्लाह दिएको थियो। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको रानीपोखरी भूकम्पले भत्कनुअघि जस्तै गरी निर्माण गरिने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।
उनले भने, “बालगोपालेश्र मन्दिर र समग्र रानीपोखरी नै भूकम्प पहिले जस्तै थियो सोहीअनुरुप निर्माण गरिन्छ, न त काठमाडौँ महानगरपलिकाले भने जस्तो हुन्छ।”
अबको चार महिनामा बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम सम्पन्न हुने बताइएको छ । शुरुमा रानीपोखरीसँगै मन्दिर महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो तर कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि मन्दिर विभाग आफैँले बनाउँदैछ। मन्दिर भूकम्पअघिको जस्तै ‘गुम्बज शैली’ मा निर्माण भइरहेको छ।
कामपाले भने पोखरी निर्माण गर्ने जिम्मा आफ्नो भए पनि विभागले अहिलेसम्म डिजाइन नदिएकाले काम अघि बढ्न नसकेको गुनासो गरेको छ। विज्ञ समूहको सुझावअनुसार पोखरी निर्माण गर्न भन्दै कामपाले विभागसँग डिजाइन मागेको छ।
कामपाले बालगोपालेश्वर विभागले निर्माण गरे पनि पोखरीको बाहिरी भाग साजसज्जासहित आकर्षक तरिकाले आफूले निर्माण गर्ने जनाउँदै आएको छ। विभागले पोखरी निर्माणको जिम्मा कामपाकै भए पनि डिजाइनका बारेमा तीव्र छलफल भइरहेको बताएको छ। डिजाइन भूकम्पअघि जस्तै हुने पनि विभागले स्पष्ट पारेको छ।
विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको छ । बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातात्विक मर्मविपरीत भइरहेको भन्दै चौतर्फी विरोध भएपछि भूकम्पअघि जस्तै निर्माण गर्ने तयारी भएको हो। रानीपोखरी पुनःनिर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौँ महानगरपालिकाले विज्ञ समूह बनाएको थियो। समूहले मन्दिर समग्र पोखरी नै मल्लकालीन शैलीमा निर्माण गर्न सिफारिश गरेको थियो।
विभागकै पूर्वमहानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकूट शैलीमा निर्माण गर्न सिफारिश गरेको थियो। मन्दिर पुनःनिर्माणका लागि विभागले रु एक करोड ५० लाखमा ठेक्का लगाएर काम गरिरहेको छ।
करीव चार सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ। पोखरीमा स्वदेश र विदेशका विभिन्न नदी, ताल र कुण्डबाट ल्याइएको पानी राखिएको थियो।
पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरुसहितको हात्तीको सेतो मूर्ति छ । पोखरीको चार कुनामा सोह्रहाते गणेश, सरस्वती, महालक्ष्मी र भैरव गरी चार मन्दिर छन् ऐतिहासिक महत्वको ‘विष्णुतीर्थ’को पुनःनिर्माण अब छिट्टै हुने विभागले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।