काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभूति गराउने बताए।
प्रधानमन्त्री ओलीले भने, “सरकारले सम्मानित जीवन जिउन पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउँछ, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन्।” सामाजिक सद्भाव भड्काउने, घृणाको खेती गर्ने र द्वन्द्व मच्चाउने तत्वसँग सजग हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपाल कसैको खेल मैदान होइन।”
प्रधानमन्त्री ओलीले यस पटकको निर्वाचनमा जनताले स्थिरता र स्थायित्वका लागि मतदान गरेको उल्लेख गर्दै जनमतको कदर गर्न आफू सचेत रहेको बताए। उनले केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिँड्नुपर्ने दिनको अन्त्य हुने उल्लेख गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।