परदेश हिँड्ने बेलामा
परदेशको बजारमा बेचिन
मैले आफैंलाई काटेर
कति टुक्रा बनाउनुपर्छ भनेर जान्न
पहिलो पटक राहदानीका पानाहरू गनेँ
जसको दोस्रो पानामा यसरी टाँसिएको थियो
मैले अरबमा काम गर्न पाउने
आदेशाज्ञाको स्टिकर,
जसरी मेरो मनको पहिलो पानामा
टाँसिएको छ, मलाई पहिलो प्रेमपत्र पठाउने
युवतीको मुस्कान ।
यसरी राहदानीका पाना
र आफ्नै शरीरका टुक्राहरू गन्दागन्दै
सुटकेसमा सपना बोकेर
म अरब आइपुगेको छु
अब यी आफ्नै शरीरका टुक्राहरू
अरबको मरूभूमिमा बिस्कुन लगाएर बेच्नु छ
पहिलो र दोस्रो टुक्रा बेचेर बनाउनु छ
सरकारले तोकिदिएको मापदण्डमा
भूकम्पप्रतिरोधी घर
जहाँ बसेर
तीन बीस नाघिसकेका मेरा बाले गर्नेछन्
भूकम्पले घर भत्काउँदा पुरिएर स्वर्गे भएका
मेरो जेठो दाजुको श्राद्ध
भाउजूले मनाउनेछिन् शोक
आमाले गर्नेछिन् बिलौना
र बहिनीले गर्नेछे मेरो प्रतीक्षा ।


तेस्रो र चौथो टुक्रा बेचेर
तिर्नुछ बैंकको ब्याज,
घटाउनु छ ऋणको पहिलो किस्ता
अनि किन्नु छ, बजारको पुछारमा रहेको
सुपथ मूल्य पसलबाट दाल र चामल
सँगै किनिदिनु छ
बहिनीले पढ्ने किताब,
जसको पहिलो पानामा बहिनीले लेखोस् -
'Dear Dada, I always miss you' भनेर
आमालाई किनिदिनु छ ढाकाको पछ्यौरी
जसले मेरो सम्झनामा बग्ने आँसु पुछेर
हरदिन मेरी आमा निदाउन सकून्
बालाई किनिदिनु छ उलनको स्वेटर,
जसलाई बाले माघे जाडोमा लगाउँदा
मलाई यो मरूभूमिको घामले नपोलोस्
र, किनिदिनु छ विधवा भाउजूलाई
एउटा साधारण मोबाइल,
जसबाट उनी घाँस काट्न गएको बेला
उनकी आमालाई फोन गरेर
धित मरून्जेल रून सकून् ।
पाँचौं र छैटौं टुक्रा बेचेपछि तिरिनेछ
मदनमान साहुबाट लिएको ऋण
जसको पूरा हिस्सा
बाको मिर्गौलाको ढुङ्गा फोर्न
वीर अस्पतालले लिएको थियो,
फिर्ता हुनेछ बन्धकी बारी र
मेटिनेछ बैंकले कालोसूचीमा निकालेको
मेरा तीनपुस्ते विवरण ।
यही क्रम एक-दुई पटक दोहोरिँदा
सकिनेछन् मसँगै मेरा राहदानीका पानाहरू
र म फर्किनेछु उही रितो मलाई बोकेर
फर्कंदा बाटामा मलाई पहिलो प्रेमपत्र पठाउने
युवतीले भेटेर 'मलाई के ल्याइदियौ?' भनेर सोधिन् भने
अथवा
म फर्कंदा मलाई मेरो देशले
'मेरो लागि के गरिस्' भनेर सोध्यो भने
म के जवाफ दिउँला?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।